२०८३ असार १० , बुधबार

तलिङ नदीमा ह्युमपाइप पुल निर्माण



हुम्ला ।  कैलाश मानसरोवर दर्शनका लागि प्रयोग हुने प्रमुख मार्गअन्तर्गत पर्ने हुम्लाको नाम्खा गाउँपालिका छ स्थित तलिङ नदीमा ह्युमपाइप बिछाएर अस्थायी पुल निर्माण गरिएको छ । बर्खायाममा नदीको बहाव बढ्ने र आवतजावतमा समस्या हुने अवस्थालाई ध्यानमा राखेर निर्माण गरिएको उक्त संरचनाले स्थानीय बासिन्दा, पर्यटक तथा सवारीसाधनलाई सहज यात्रा गर्न मद्दत पुर्‍याएको छ । लिमी क्षेत्र हुँदै मानसरोवर दर्शनका लागि जाने हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले विगतमा तलिङ नदी पार गर्दा विभिन्न कठिनाइ भोग्दै आएका थिए ।

पक्की पुलको अभावमा सवारीसाधनलाई नदीभित्रैबाट वारपार गराउनुपर्ने अवस्था थियो ।  नदीमा पानीको बहाव बढेका बेला गाडी फस्ने, यात्रु जोखिममा पर्ने र यात्रा अवरुद्ध हुने समस्या सामान्य जस्तै बनेको थियो । सञ्चार सुविधा कमजोर रहेको यस दुर्गम क्षेत्रमा समस्या पर्दा तत्काल उद्धार तथा समन्वय गर्न पनि कठिन हुने गरेको थियो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार स्थानीयको लामो समयदेखिको मागलाई सम्बोधन गर्दै नाम्खा गाउँपालिकाको पहलमा तलिङ नदीमा आठ वटा ह्युमपाइप जडान गरी सडकलाई सञ्चालनयोग्य बनाइएको हो ।

यस संरचनाले हाल अस्थायी पुलको काम गरिरहेको छ । उनले अब लिमीका हल्जी, तिल र जाँग गाउँसँगै पर्यटकीय क्षेत्र लाप्चासम्म पुग्न सवारीसाधनलाई सहज भएको बताए ।  उक्त संरचना निर्माणका लागि प्रदेश सरकारले २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामाले मानसरोवर दर्शनका लागि आउने पर्यटकको सुविधालाई प्राथमिकता दिँदै काम सम्पन्न गरिएको जानकारी दिए  ।

उनका अनुसार सडक पूर्वाधार सुधारसँगै पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । वैशाखदेखि जेठसम्मको अवधिमा मात्रै लिमी–लाप्चा नाकामार्फत करिब चार हजार एक सय पर्यटक मानसरोवर दर्शनका लागि आवतजावत गरेका छन् । स्थानीय सरकारका प्रतिनिधिले सल्ली–लिमी–लाप्चा सडकखण्डलाई थप स्तरोन्नति गर्न सके पर्यटन क्षेत्रको विकाससँगै स्थानीय अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार