२०८३ असार १० , बुधबार

शारदा नगरपालिकाको एक अर्ब ३६ करोडको बजेट



सल्यान ।  शारदा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि एक अर्ब ३६ करोड एक लाख २६ हजार  पाँच सय १३ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १९औँ नगरसभामा नगरप्रमुख प्रकाश भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए  भने उपप्रमुख सुस्मिता सापकोटाले बजेट पेश गरेकी हुन् ।  नगरपालिकाले सार्वजनिक गरेको बजेटमध्ये चालूतर्फ ६६ करोड ९० लाख २६ हजार पाँच सय १३ रुपैयाँ अर्थात् ४९.१८ प्रतिशत र पुँजीगततर्फ ६९ करोड ११ लाख रुपैयाँ अर्थात् ५०.८२ प्रतिशत विनियोजन गरिएको छ ।

विकास निर्माण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले चालू र पुँजीगत खर्चलाई सन्तुलित रूपमा व्यवस्थापन गरिएको जनाइएको छ । नगरप्रमुख प्रकाश भण्डारीका अनुसार आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ । नगरभित्र अझै पनि धेरै बस्तीमा खानेपानीको समस्या कायम रहेकाले खानेपानी क्षेत्रमा मात्रै ५० करोड रुपैयाँ विनियोजन गरिएको उनले बताए ।  सुरक्षित र नियमित खानेपानी सेवा विस्तारका लागि विभिन्न आयोजना सञ्चालन गरिने योजना रहेको छ ।

शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, विद्यालयको भौतिक पूर्वाधार सुधार, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणका लागि आवश्यक बजेट व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । त्यसैगरी स्वास्थ्य क्षेत्रमा आधारभूत तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको सुदृढीकरण र नागरिकलाई सहज सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ । कृषि क्षेत्रलाई उत्पादनमुखी तथा व्यवसायिक बनाउने उद्देश्यले किसानलाई लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिने भएका छन् ।

कृषि उत्पादन वृद्धि, पशुपालन प्रवर्द्धन, उद्यमशीलता विकास तथा स्थानीय उत्पादनको बजारीकरणमार्फत किसानको आयआर्जन बढाउने योजना नगरपालिकाले अघि सारेको छ । यसका साथै पूर्वाधार विकास, सडक स्तरोन्नति, महिला तथा युवा सशक्तीकरण, रोजगार सिर्जना, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सुशासन र सेवा प्रवाह सुधारलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ । नगरपालिकाले “समृद्ध शारदा, सुखी नागरिक” भन्ने दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम तयार गरिएको जनाएको छ । नगरसभाको अवसरमा पत्रकार प्रदीप मगरसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार