सुर्खेत । कर्णाली प्रदेशको प्रमुख हवाई प्रवेशद्वारका रूपमा रहेको सुर्खेत विमानस्थल विस्तारको योजना वर्षौंदेखि चर्चामा रहे पनि कार्यान्वयन भने अझै अन्योलमै रहेको छ । विमानस्थलको धावनमार्ग साँघुरो हुँदा ठूला जहाज सञ्चालन गर्न कठिनाइ भइरहेको छ भने यात्रुको चाप बढ्दै जाँदा विमानस्थल स्तरोन्नतिको आवश्यकता झन् बढेको छ । संघीय, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा सुर्खेत विमानस्थललाई प्रादेशिक विमानस्थलका रूपमा विकास गर्ने योजना अघि सारिएको थियो ।
योजना अनुसार हालको धावनमार्गलाई एक हजार पाँच सय ५५ मिटर लम्बाइमा विस्तार गरी रात्रीकालीन उडानसमेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ । विमानस्थलको उत्तरतर्फ करिब छ सय मिटर लम्बाइ र दुई सय ४० मिटर चौडाइ क्षेत्रमा विस्तार गर्न करिब ३० बिघा जमिन अधिग्रहण गर्नुपर्ने प्रस्ताव गरिएको थियो । तर जग्गा अधिग्रहण तथा स्थानीयस्तरमा देखिएको विवादका कारण विस्तार योजना सुरुवाती चरणमै रोकिएको छ । यसपछि विमानस्थल विस्तारको विषय प्रत्येक वर्ष नीति तथा कार्यक्रम र बजेटमा समावेश हुँदै आए पनि उल्लेखनीय प्रगति हुन सकेको छैन ।
योजना सार्वजनिक हुने तर कार्यान्वयनमा नजाने अवस्थाले स्थानीयवासी तथा सरोकारवालाबीच निराशा बढाएको छ । संघीय सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा पनि सुर्खेतलाई प्रादेशिक विमानस्थलका रूपमा विकास गर्ने योजना समेटेको छ । यद्यपि, विस्तारका लागि कति रकम विनियोजन गरिएको हो भन्ने स्पष्ट खुलाइएको छैन । यता कर्णाली प्रदेश सरकारले भने विमानस्थल स्तरोन्नति तथा विस्तारका लागि पाँच करोड रुपैयाँ बजेट छुट्याएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले संघीय सरकारसँग समन्वय गरी विमानस्थल विस्तारको काम अघि बढाइने बताएका छन् । साथै सुर्खेतबाट कर्णालीका विभिन्न जिल्लामा नियमित आन्तरिक हवाई सेवा विस्तार गर्ने योजना पनि प्रदेश सरकारले अघि सारेको छ । कर्णालीको आर्थिक, सामाजिक तथा पर्यटन विकासका लागि सुर्खेत विमानस्थलको विस्तारलाई महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । तर पटक–पटक बजेट र कार्यक्रममा समेटिए पनि योजना कार्यान्वयन हुन नसक्दा यसको भविष्य अझै अनिश्चित देखिएको छ । सरोकारवालाले अब घोषणा भन्दा पनि ठोस कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।








