सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि चार अर्ब ७१ करोड दुई लाख ७२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । १९औँ नगरसभामा उपप्रमुख नीलकण्ठ खनालले बजेट प्रस्तुत गर्नुभएको हो । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ३२ करोड ७५ लाख रुपैयाँले बढी हो । चालु आवका लागि नगरपालिकाले चार अर्ब ३८ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी वर्षका लागि विनियोजित कुल बजेटमध्ये तिन अर्ब दुई करोड ७० लाख रुपैयाँ अर्थात् ६४ प्रतिशत पुँजीगततर्फ र एक अर्ब ६८ करोड ३१ लाख रुपैयाँ चालुतर्फ खर्च हुने जनाइएको छ । नगरपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आम्दानी तथा अन्य स्रोतमार्फत बजेट व्यवस्थापन गर्ने जनाएको छ । संघीय सशर्त अनुदानबाट सबैभन्दा बढी दुई अर्ब ६७ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने आन्तरिक आयबाट ३३ करोड छ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
बजेटमा तलबभत्ता तथा कार्यालय सञ्चालनका लागि ३४ करोड रुपैयाँ, सामाजिक सुरक्षा कार्यक्रमका लागि ३४ करोड रुपैयाँ, भेरी पम्पिङ खानेपानी आयोजना सञ्चालन तथा व्यवस्थापनका लागि १८ करोड रुपैयाँ र वडा स्तरीय योजना तथा कार्यक्रमका लागि १६ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै विभिन्न शाखामार्फत सञ्चालन हुने नगरस्तरीय योजनाका लागि १४ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।
नगरसभामा नगरप्रमुख मोहनमाया ढकालले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वीरेन्द्रनगरलाई उपमहानगरपालिकाका रूपमा विकास गर्ने लक्ष्य सार्वजनिक गरेकी छन् । नीति तथा कार्यक्रममा पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, सुशासन तथा सेवा प्रवाह सुधारलाई प्राथमिकता दिइएको छ । नगरपालिकाले आगामी बजेट र कार्यक्रममार्फत शहरी पूर्वाधार विस्तार, नागरिक सेवा प्रभावकारी बनाउने तथा दीर्घकालीन विकासका आधार तयार गर्ने लक्ष्य लिएको जनाएको छ ।








