डोल्पा । छार्का ताङसोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २७ करोड ९० लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । दुर्गम हिमाली भूगोल, स्थानीय आवश्यकता, जनअपेक्षा तथा दिगो विकासका लक्ष्यलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटन, पूर्वाधार विकास, सामाजिक सुरक्षा, युवा तथा खेलकुद, महिला सशक्तीकरण, वातावरण संरक्षण तथा सुशासनका क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । स्थानीय स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गर्दै हिमाली क्षेत्रका चुनौतीलाई अवसरमा रूपान्तरण गर्ने लक्ष्य बजेटले लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल पौडेले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष सेनाङ गुरूङले प्रस्तुत बजेट जनताको आवश्यकता, स्थानीय सम्भावना र दिगो विकासको अवधारणालाई केन्द्रमा राखेर तयार गरिएको बताए । उनका अनुसार सीमित स्रोतसाधनका बाबजुद शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ ।
“समृद्ध छार्का ताङसोङ निर्माणको लक्ष्यसहित बजेट ल्याएका छौं,अध्यक्ष गुरूङले भने, बजेटको प्रभावकारी कार्यान्वयनबाट नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने, रोजगारीका अवसर सिर्जना हुने र समग्र विकासले नयाँ गति लिने विश्वास लिएका छौं ।

गाउँपालिकाले सडक, झोलुङ्गे पुल, खानेपानी, सिँचाइ, ऊर्जा तथा सञ्चार क्षेत्रका कार्यक्रमलाई निरन्तरता दिँदै दुर्गम बस्तीमा आधारभूत सेवाको पहुँच विस्तार गर्ने योजना बनाएको छ । यस्तै महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न समुदायको उत्थानका लागि लक्षित कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ ।
युवालाई उत्पादनशील क्षेत्रमा जोड्ने उद्देश्यसहित सीपमूलक तालिम, उद्यमशीलता प्रवर्द्धन तथा स्वरोजगार सिर्जनाका कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । साथै वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा विपद् जोखिम व्यवस्थापनका कार्यक्रमलाई पनि बजेटले विशेष महत्व दिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटको सफल कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, निजी क्षेत्र, विकास साझेदार, सञ्चारकर्मी तथा नागरिकबीच सहकार्य र सहभागिता आवश्यक रहेको उल्लेख गरेको छ ।







