सल्यान । जिल्लाकाे सिद्धकुमाख गाउँपालिकाले सुरक्षित आवास सुनिश्चित गर्ने उद्देश्यसहित ५७ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमअन्तर्गत खरको छाना भएका घरलाई क्रमशः विस्थापन गरी सुरक्षित, व्यवस्थित तथा विपद् प्रतिरोधी आवास निर्माण गर्ने लक्ष्यसहित गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको हो । गाउँपालिकाका अनुसार ग्रामीण क्षेत्रमा अझै पनि खरको छाना भएका घरधुरीको संख्या उल्लेख्य रहेको छ ।
वर्षायाममा खरको छानाबाट पानी चुहिने, आगलागीको जोखिम बढ्ने तथा हावाहुरीलगायत प्राकृतिक विपद्का कारण जनधनको क्षति हुने सम्भावना उच्च रहने भएकाले जोखिममा रहेका परिवारलाई प्राथमिकताका आधारमा जस्तापाता उपलब्ध गराइएको हो । कार्यक्रमअन्तर्गत छनोट भएका ५७ घरधुरीलाई जस्तापाता हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
जस्तापाता वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भरत गिरीले सुरक्षित आवास नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै गाउँपालिकाले यस विषयलाई विशेष प्राथमिकतामा राखेको बताए । उनले ग्रामीण बस्तीमा रहेका खरको छाना भएका घरलाई क्रमशः सुरक्षित संरचनामा रूपान्तरण गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए ।
विपद्को जोखिम न्यूनीकरण गर्दै नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यअनुसार गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनकाे भनाइ थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामबहादुर बस्नेतले गाउँपालिकाले उपलब्ध गराएको सामग्रीको सही सदुपयोग गर्न लाभग्राहीलाई आग्रह गरे । प्राप्त जस्तापातालाई निर्धारित उद्देश्यअनुसार प्रयोग गरी घरलाई सुरक्षित बनाउनेतर्फ सचेत हुनुपर्ने उनले बताए ।
सुरक्षित आवाससम्बन्धी नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न नागरिकको सहयोग र जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण रहने उनकाे धारणा थियो । गाउँपालिकाले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जोखिमयुक्त आवासको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ । यस पहलले ग्रामीण क्षेत्रमा सुरक्षित आवास निर्माण अभियानलाई थप गति दिने विश्वास गरिएको छ ।









