२०८३ असार ११ , बिहीबार

जुम्लाका स्थानीय तहले ल्याए साढे तीन अर्ब बजेट



जुम्ला ।  जिल्लका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रमसहित कुल तिन अर्ब ८२ करोड ५० लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेका छन् । जिल्लामा रहेको एक नगरपालिका र सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेका हुन् । स्थानीय तहहरूले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान, आन्तरिक आय तथा अन्य स्रोतलाई आधार बनाएर बजेट निर्माण गरेका छन् ।

सार्वजनिक गरिएका नीति तथा कार्यक्रमहरूमा कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य तथा आर्थिक समृद्धिलाई प्राथमिकतामा राखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले समग्र बजेटको आकार मात्र सार्वजनिक गरेका भए पनि तातोपानी गाउँपालिकाले भने विषयगत क्षेत्र तथा वडागत आवश्यकताका आधारमा बजेट विनियोजन गरेको जनाएको छ । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याइएको जानकारी दिए ।

उनका अनुसार स्थानीय स्रोत–साधनको संरक्षण र उपयोगमार्फत समृद्ध तातोपानी निर्माण गर्ने लक्ष्य लिइएको छ । गाउँपालिका उपाध्यक्ष तथा बजेट तर्जुमा समिति संयोजक रेवती रावलले तातोपानी गाउँपालिकाको आगामी वर्षका लागि ५४ करोड २८ लाख आठ हजार रुपैयाँको बजेट प्रस्तुत गरे ।  कुल बजेटमध्ये ६५.५७ प्रतिशत चालु खर्च र ३४.४३ प्रतिशत पूँजीगत खर्चतर्फ विनियोजन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरिएको छ । साथै आर्थिक ऐन, बाल संरक्षण मापदण्ड तथा बालमैत्री आचारसंहितालगायत विभिन्न कानुन पनि सभामा पेश गरिएको छ ।

बजेटको आकारअनुसार चन्दननाथ नगरपालिकाले ५९ करोड ४६ लाख रुपैयाँ, तातोपानी गाउँपालिकाले ५४ करोड २८ लाख रुपैयाँ, तिला गाउँपालिकाले ५० करोड ५१ लाख रुपैयाँ, सिजा गाउँपालिकाले ४५ करोड ४८ लाख रुपैयाँ, पातारासी गाउँपालिकाले ४५ करोड ४६ लाख रुपैयाँ, कनकासुन्दरी गाउँपालिकाले ४५ करोड १२ लाख रुपैयाँ, हिमा गाउँपालिकाले ४३ करोड ७९ लाख रुपैयाँ तथा गुठीचौर गाउँपालिकाले ३८ करोड ३६ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति : २०८३ असार ११ गते बिहीबार