जाजरकोट । बारेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५८ करोड २ लाख ७८ हजार ८ सय ६६ रुपैयाँ ७६ पैसाको विस्तृत बजेट पारित गरेको छ । बुधबार सम्पन्न २३औँ गाउँसभा तथा नाैऔँ बजेट अधिवेशनले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत रूपमा अनुमोदन गरेको हो । गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेट स्थानीय आवश्यकता, नागरिकको जीवनस्तर सुधार तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर तयार गरिएको हो । गाउँपालिका अध्यक्ष वीरबहादुर गिरिले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र रोजगारी सिर्जनालाई मुख्य प्राथमिकताका रूपमा अघि बढाइने बताए ।
उपाध्यक्ष नरबहादुर गिरिको तर्फबाट वडा नं. दुईका अध्यक्ष वीरबहादुर घर्तीले सभामा बजेट प्रस्तुत गरेका थिए । बजेट प्रस्तुतिपछि विषयगत छलफल, सुझाव तथा परिमार्जनपछि गाउँसभाले बजेट सर्वसम्मत रूपमा पारित गरेको हो । पारित बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, युवा तथा खेलकुद, महिला तथा बालबालिका सशक्तीकरण, सामाजिक सुरक्षा तथा सुशासनलाई विशेष प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले यी क्षेत्रलाई समेट्दै समावेशी र सन्तुलित विकासको लक्ष्य राखेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष गिरिले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार, कृषि उत्पादन वृद्धि, स्थानीय रोजगारी सिर्जना तथा पूर्वाधार विस्तारलाई दीर्घकालीन विकासका आधारका रूपमा अघि बढाइने स्पष्ट गरे। उनका अनुसार उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै विकासलाई जनमुखी बनाउने नीति लिइएको छ । त्यस्तै, उपाध्यक्ष गिरिले बजेट निर्माणमा आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्वलाई विशेष ध्यान दिइएको बताए । उनका अनुसार सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै प्राथमिकताका आधारमा आयोजना छनोट गरिएको छ ।
गाउँपालिकाले पारित बजेटले विकास निर्माणका कामलाई गति दिने मात्र नभई सामाजिक न्याय, समावेशीकरण र सुशासन प्रवर्द्धन गर्दै समग्र पालिकाको दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ । स्थानीय तहका सबै वडामा आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम तथा योजना सञ्चालन गरिने पनि जनाइएको छ । यस बजेटले बारेकोट गाउँपालिकालाई आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासतर्फ अघि बढाउन महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले आगामी वर्ष कार्यान्वयनलाई प्रभावकारी बनाउँदै योजनाहरू समयमै सम्पन्न गर्ने प्रतिबद्धता समेत जनाएको छ ।









