सुर्खेत । अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवस–२०२६ को अवसरमा सुर्खेतमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । “लागुऔषधको चुनौती चिनौँ : सामाजिक समाधानको बाटो खोजौँ” भन्ने मूल नारासहित साउथ एसियन स्कलर्स एकेडेमीको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा तथा प्याब्सन जिल्ला कार्यसमिति सुर्खेतको समन्वयमा सम्पन्न उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्की अध्यक्ष रहेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी कविन्द्रसिंह बोहोरा, भरत खनाल, प्याब्सन सुर्खेतका अध्यक्ष छत्रबहादुर बडुवाल, यमराज गिरी, पूर्णबहादुर भण्डारी, विनुसी भास्कर लगायतका व्यक्तिहरूको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन सुर्खेतका जिल्ला सचिव प्रकाश खत्रीले गरेका थिए भने स्वागत मन्तव्य यमराज गिरीले दिएका थिए । कार्यक्रममा साउथ एसियन स्कलर्स एकेडेमीका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

वक्ताहरूले लागुऔषध दुव्र्यसनका कारण, त्यसका सामाजिक तथा पारिवारिक असर, जोखिम तथा नियन्त्रणका उपायबारे विस्तृत रूपमा चर्चा गरेका थिए । उनीहरूले लागुऔषधको समस्या न्यूनीकरणका लागि परिवार, विद्यालय, समुदाय तथा सरकारी निकायबीचको समन्वय अपरिहार्य रहेकोमा जोड दिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले लागुऔषधले व्यक्तिगत जीवन मात्र नभई समग्र समाजलाई नै प्रभावित गर्ने भएकाले यसविरुद्ध सामूहिक अभियान आवश्यक रहेको बताए ।
उनले सचेतना अभिवृद्धि, निगरानी तथा कानुनी कडाइलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औंलाए । त्यस्तै, डीएसपी कविन्द्रसिंह बोहोराले युवा पुस्ता लक्षित सचेतना कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले विद्यालय स्तरमै यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गर्दै विद्यार्थीलाई सकारात्मक गतिविधिमा सहभागी गराउनुपर्ने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले लागुऔषध दुव्र्यसन रोकथामका लागि परिवारको निगरानी, विद्यालयको शिक्षण भूमिका, समुदायको सहकार्य तथा सरोकारवाला निकायको सक्रियता अत्यावश्यक रहेको धारणा व्यक्त गरेका थिए । उक्त कार्यक्रमले विद्यार्थी तथा युवापुस्तामा लागुऔषधविरुद्ध सकारात्मक सन्देश प्रवाह गर्दै सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।








