२०८३ असार १२ , शुक्रबार

अपाङ्गता भएकी छात्राको शिक्षाबाट बन्चित



जाजरकोट ।  जिल्लाकाे  भेरी नगरपालिका चार निवासी २० वर्षीया चण्डिका चन्द अपाङ्गता भएकै कारण आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेकी छन्  । घरदेखि विद्यालयसम्म पुग्न करिब तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता र जिल्लाको सदरमुकाम खलङ्गामा अपाङ्गता भएका विद्यार्थीका लागि सहज पहुँचयुक्त विद्यालयको अभावका कारण उनले  नियमित रूपमा विद्यालय जान छाड्नु परेकाे  छ ।

चन्द भेरीस्थित लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन् । तर, शारीरिक अवस्थाका कारण एक्लै लामो दूरी पार गरेर विद्यालय जान नसक्ने भएपछि उनकाे पढाइ बीचमै रोकिएको छ । आवश्यक सहयोग र पहुँचयुक्त पूर्वाधार नहुँदा उनी जस्ता अपाङ्गता भएका विद्यार्थीले शिक्षाको अधिकारबाट वञ्चित हुनुपरेको स्थानीयवासी बताउँछन् । चण्डिकाकी आमा पशुपति चन्दका अनुसार एक वर्षअघिसम्म छोरीलाई नियमित रूपमा विद्यालय पठाउन खलङ्गामा कोठा भाडामा लिएर बस्ने व्यवस्था गरिएको थियो ।

उनी स्वयमले विद्यालय लाने–ल्याउने जिम्मेवारी पनि समालेकी थिइन् । तर, श्रीमान् घर छाडेर गएपछि परिवारको सम्पूर्ण आर्थिक भार आफ्नै काँधमा आएको र जीविकोपार्जन गर्नुपर्ने बाध्यताले छोरीलाई विद्यालय पुर्‍याउन तथा बसोबासको खर्च धान्न नसकिएको उनकाे भनाइ छ ।  आर्थिक अभाव, पहुँचयुक्त शिक्षाको कमी र पारिवारिक समस्याको दोहोरो मारका कारण चण्डिकाले आफ्नो पढाइ छाड्नुपरेको हो ।

स्थानीय सरोकारवालाले अपाङ्गता भएका विद्यार्थीका लागि सहज पहुँचयुक्त विद्यालय, यातायात सुविधा तथा आवश्यक सहयोगको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । उनीहरूका अनुसार यस्ता विद्यार्थीलाई लक्षित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकिएमा धेरै विद्यार्थी शिक्षा हासिल गर्ने अवसरबाट वञ्चित हुने अवस्था रहनेछ ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार