कालीकोट । जिल्लाका नौवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्र बजेट पेस गर्नुपर्ने व्यवस्थाअनुसार जिल्लाका सबै पालिकाले समयमै आफ्नो वार्षिक बजेट सभामा प्रस्तुत गरेका हुन् । रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र पचालझरना गाउँपालिकाले असार १० गतेअघि नै बजेट सार्वजनिक गरेका थिए भने बाँकी छ स्थानीय तहले असार १० गते एकैदिन नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।
जिल्लाका नौवटै स्थानीय तहको कुल बजेट ४ अर्ब ५५ करोड ६ लाख ३२ हजार २२६ रुपियाँ पुगेको छ। सबैभन्दा बढी बजेट तिलागुफा नगरपालिकाले ६५ करोड ७४ लाख ३७ हजार २०५ रुपियाँ ल्याएको छ भने सबैभन्दा कम बजेट महावै गाउँपालिकाले ३७ करोड ३८ लाख ३५ हजार ५०२ रुपियाँ सार्वजनिक गरेको छ । रास्कोट नगरपालिकाले ५६ करोड ६७ लाख ५१ हजार, खाँडाचक्र नगरपालिकाले ५७ करोड ३७ लाख १६ हजार, नरहरीनाथ गाउँपालिकाले ६१ करोड ५९ लाख ५९ हजार ७०२, पलाँता गाउँपालिकाले ४९ करोड ६९ लाख ९३ हजार ९१, सान्नीत्रिवेणी गाउँपालिकाले ४४ करोड २६ लाख २५ हजार नाै सय ४७, पचालझरना गाउँपालिकाले ४१ करोड ४४ लाख ७७ हजार पाँच सय ४३ तथा शुभकालिका गाउँपालिकाले ४० करोड ८८ लाख ३६ हजार ३६ रुपियाँको बजेट सार्वजनिक गरेका छन् । सम्बन्धित पालिकाका उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूले बजेट सभामार्फत प्रस्तुत गरेका हुन् ।
यस वर्ष अधिकांश स्थानीय तहले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सडक विस्तार, भौतिक पूर्वाधार निर्माण तथा सेवा प्रवाह सुधारलाई मुख्य प्राथमिकतामा राखेका छन् । महावै गाउँपालिकाले विशेष रूपमा शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित कार्यक्रम अघि सारेको जनाएको छ । यद्यपि अधिकांश पालिकाको नीति तथा कार्यक्रममा नयाँ र महत्वाकांक्षी योजना भन्दा पनि विगतका कार्यक्रमलाई निरन्तरता दिइएको देखिएको छ ।
स्थानीय तहहरूले अहिले ‘डल्लो बजेट’ मात्र सभामा पेस गरेका छन् । आगामी बैठकमार्फत विषयगत शाखा तथा योजनाअनुसार बजेटको विस्तृत बाँडफाँट गरिने जनाइएको छ । स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षमा विकास निर्माणलाई तीव्रता दिने, आधारभूत सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा कृषि उत्पादन, रोजगारी सिर्जना र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।









