सल्यान । आर्थिक वर्ष २०८२/८३ को अन्त्य नजिकिँदै जाँदा सल्यानको वनगाड कुपिण्डे नगरपालिकाले सार्वजनिक बिदाका दिनमा पनि भुक्तानी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसँगै आर्थिक दायित्व समयमै फर्छ्यौट गर्ने उद्देश्यले असार २५ गतेसम्म आर्थिक प्रशासन शाखाबाट नियमित रूपमा भुक्तानी सेवा उपलब्ध गराइने नगरपालिकाले जनाएको छ । नगरपालिकाद्वारा जारी सूचनाअनुसार महालेखा नियन्त्रक कार्यालयको निर्देशनबमोजिम सार्वजनिक बिदामा समेत कार्यालय खुला राखी भुक्तानी प्रक्रिया सञ्चालन गरिनेछ । यस अवधिमा योजना तथा कार्यक्रमसँग सम्बन्धित भुक्तानी रोकावट नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्था मिलाइएको जनाइएको छ ।
नगरपालिकाले वडा कार्यालय, विषयगत शाखा, योजना उपभोक्ता समिति, निर्माण व्यवसायी, सेवा प्रदायक तथा अन्य सरोकारवालालाई भुक्तानीका लागि आवश्यक बिल, भरपाई, सम्झौता, कार्यसम्पन्न प्रतिवेदन, सिफारिस तथा अन्य आवश्यक कागजात समयमै पूर्ण रूपमा तयार गरी आर्थिक प्रशासन शाखामा पेस गर्न अनुरोध गरेको छ ।
भुक्तानी प्रक्रियालाई छिटो, पारदर्शी र व्यवस्थित बनाउन शाखा प्रमुख, योजना शाखा, प्राविधिक शाखा, जिन्सी शाखा तथा सम्बन्धित कर्मचारीबीच आवश्यक समन्वय र सहकार्य गर्न निर्देशन दिइएको प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थीले जानकारी दिए । उनले आर्थिक वर्षको अन्तिम समयमा अनावश्यक चाप र ढिलाइ हुन नदिन सम्बन्धित सबै पक्षलाई आवश्यक कागजात समयमै बुझाई भुक्तानी प्रक्रिया सम्पन्न गर्न आग्रह गरेका छन् । नगरपालिकाले यस व्यवस्थाले विकास निर्माणका योजना तथा सेवा प्रवाहसँग सम्बन्धित आर्थिक कारोबार समयमै सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।









