२०८३ असार १२ , शुक्रबार

रुकुम पश्चिमका छ स्थानीय तहले ल्याए तिन अर्ब ६२ करोड बजेट



रुकुम पश्चिम ।  तीन नगरपालिका र तीन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल तिन अर्ब ६२ करोड ७१ लाख ७६ हजार नाै सय चार रुपियाँको बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका हुन् । जिल्लाका छ स्थानीय तहमध्ये मुसिकोट नगरपालिकाले सबैभन्दा ठूलो ७३ करोड ७३ लाख २३ हजार आठ सय ४८ रुपियाँको बजेट ल्याएको छ ।

नगर उपप्रमुख बिमलकुमार पुनले प्रस्तुत गर्नुभएको बजेटमध्ये ५१ करोड ७९ लाख २३ हजार ४८ रुपियाँ चालु खर्च र २१ करोड ९४ लाख रुपियाँ पुँजीगततर्फ विनियोजन गरिएको छ । आठबिसकोट नगरपालिकाले ७१ करोड ३७ लाख ४७ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख धनकुमारी शाहीले चालुतर्फ ४६ करोड ३३ लाख ७४ हजार तथा पुँजीगततर्फ २५ करोड तिन लाख ७३ हजार रुपियाँ विनियोजन गरिएको जानकारी दिइन् ।

चौरजहारी नगरपालिकाले ५७ करोड २३ लाख ८२ हजार ५०० रुपियाँको बजेट ल्याएको छ । आर्थिक विकास समिति संयोजक श्रीकृष्ण शर्माका अनुसार चालुतर्फ ४४ करोड ११ लाख ५३ हजार चार  सय ७० र पुँजीगततर्फ १३ करोड १२ लाख २९ हजार ३० रुपियाँ छुट्याइएको छ । गाउँपालिकातर्फ सानीभेरी गाउँपालिकाले ५५ करोड आठ लाख २४ हजार रुपियाँ, त्रिवेणी गाउँपालिकाले ५४ करोड ९४ लाख ३९ हजार नाै सय ५६ रुपियाँ तथा बाँफिकोट गाउँपालिकाले ५० करोड ३४ लाख ५९ हजार छ सय  रुपियाँको बजेट सार्वजनिक गरेका छन् ।

तीनै गाउँपालिकाले पनि चालु र पुँजीगत खर्चलाई सन्तुलित रूपमा विनियोजन गर्दै विकास र सेवा प्रवाहलाई प्राथमिकता दिएका छन् । स्थानीय तहहरूले आगामी आर्थिक वर्षमा आधारभूत सेवा सुधार, कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, पर्यटन विकास, सडक तथा खानेपानी विस्तार, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिलाई मुख्य प्राथमिकतामा राखेका छन् । अधिकांश स्थानीय तहले विगतका विकास कार्यक्रमलाई निरन्तरता दिँदै नागरिकको जीवनस्तर सुधारमा केन्द्रित योजना अघि सारेका छन् ।

प्रकाशित मिति : २०८३ असार १२ गते शुक्रबार