सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउने लक्ष्यसहित डिजिटल प्रविधिमा महत्वपूर्ण कदम अघि बढाएको छ । नगरपालिकाले इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम (इबिपिएस) औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नगरप्रमुख मोहनमाया ढकालले एक कार्यक्रमबीच उक्त प्रणालीको उद्घाटन गरकी हुन् । कर्णाली प्रदेशमै पहिलो पटक लागू गरिएको यो प्रणाली देशका सीमित नगरपालिकामध्ये एक भएको नगरपालिकाले जनाएको छ । यो सेवा आगामी साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।
नगरपालिकाले यससँगै एकीकृत नगरपालिका सूचना प्रणाली (आईएमआईएस) पनि सञ्चालनमा ल्याएको छ । दुवै प्रणालीले नगर सेवामा डिजिटल सुशासन प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । इबिपिएस प्रणालीमार्फत अब सेवाग्राहीले घर तथा अन्य भवन निर्माण अनुमति सम्बन्धी सम्पूर्ण प्रक्रिया अनलाइनबाटै गर्न सक्नेछन् । यसमा नक्सा पेश गर्ने, आवश्यक कागजात अपलोड गर्ने, शुल्क बुझाउने, निवेदनको अवस्था अनलाइनमै हेर्ने तथा अन्तिम स्वीकृति प्राप्त गर्ने सुविधा समावेश गरिएको छ ।
नगरप्रमुख ढकालले डिजिटल प्रणालीले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता घटाउँदै सेवा प्रवाहलाई सहज बनाउने विश्वास व्यक्त गरिन् । उनले वीरेन्द्रनगरलाई प्रविधिमैत्री नगर बनाउने लक्ष्यका साथ काम अघि बढिरहेको बताउँदै पश्चिम नेपालमै नमुना नगरपालिका बनाउने योजना रहेको उल्लेख गरिन् । यस प्रणाली लागू भएपछि भवन निर्माण अनुमति प्रक्रियामा हुने ढिलासुस्ती, कागजी झन्झट र अनावश्यक मानवीय हस्तक्षेप कम हुने अपेक्षा गरिएको छ । साथै सेवाप्रवाहमा पारदर्शिता बढ्ने, समय तथा लागत दुबै बचत हुने नगरपालिकाले जनाएको छ ।
नगरका प्राविधिक कर्मचारीहरूले अब नक्सा परीक्षण, प्राविधिक मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया प्रणालीमार्फत व्यवस्थित रूपमा सञ्चालन गर्न सक्नेछन्, जसले अभिलेख व्यवस्थापनलाई थप सुरक्षित र प्रभावकारी बनाउने विश्वास गरिएको छ । यसैबीच इबिपिएस दक्षता अभिवृद्धि तथा अभिमुखीकरण तालिम पनि सुरु भएको छ । दुई दिनसम्म चल्ने तालिममा नगरपालिकाका कर्मचारीसँगै सरोकारवाला पक्षहरूको सहभागिता रहेको छ ।









