२०८३ असार १३ , शनिबार

जिल्ला अस्पतालमा जटिल शल्यक्रिया सफल



हुम्ला ।  जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सहितको दक्ष स्वास्थ्य टोलीको व्यवस्था भएपछि जटिल प्रकृतिका शल्यक्रियासमेत सफलतापूर्वक हुन थालेका छन् । सीमित स्रोतसाधन र दुर्गम भौगोलिक अवस्थाबीच पनि अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै स्थानीयवासीको विश्वास जित्न सफल भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख तथा विशेषज्ञ चिकित्सक डा. उमाकान्त तिवारीका अनुसार हालै जुम्ल्याहा शिशु रहेको जोखिमपूर्ण गर्भावस्थामा सफल शल्यक्रिया गरिएको छ ।

उच्च रक्तचाप, प्रसूतिको दोस्रो चरण तथा शिशुको उल्टो प्रस्तुति जस्ता जटिल अवस्थाका बाबजुद आमा र शिशुको सुरक्षित उपचार सम्भव भएको उहाँले जानकारी दिए । डा. तिवारीले जिल्लामा विशेषज्ञ चिकित्सकको टोली उपलब्ध भएकाले पहिले जिल्लाबाहिर रेफर गर्नुपर्ने धेरै जटिल बिरामीको उपचार अहिले जिल्लामै सम्भव भइरहेको बताए । यसले बिरामीलाई समयमै उपचार मिल्नुका साथै आर्थिक भारसमेत कम भएको उहाँको भनाइ छ ।

जिल्ला अस्पतालले प्रसूति तथा शल्यक्रियाका अतिरिक्त दुर्घटनाका घाइतेको उपचार, आपत्कालीन स्वास्थ्य सेवा तथा कैलाश–मानसरोवर तीर्थयात्राका क्रममा बिरामी परेका स्वदेशी तथा विदेशी यात्रुलाई समेत प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।  दुर्गम जिल्लामा सीमित पूर्वाधारका बाबजुद अस्पतालले निरन्तर स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ । विशेषज्ञ जनशक्ति अभावका कारण विगतमा सामान्य नागरिकले लाखौँ रुपैयाँ खर्च गरेर जिल्लाबाहिर उपचार गराउनुपर्ने अवस्था थियो ।

अहिले भने अधिकांश जटिल स्वास्थ्य समस्या जिल्लामै उपचार हुन थालेपछि स्थानीयवासीले यसलाई स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । स्थानीय तह र स्वास्थ्यकर्मीबीचको समन्वय तथा विशेषज्ञ चिकित्सकको उपस्थितिले हुम्लामा स्वास्थ्य सेवाको गुणस्तर सुधारिएको छ । यसले दुर्गम क्षेत्रका नागरिकलाई सहज, सुरक्षित र प्रभावकारी उपचार सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार