सल्यान । सल्यानमा पशुचौपायामा देखिने खोरेत रोगको संक्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउन सरोकारवाला निकायबीच अन्तरक्रिया तथा प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानको आयोजनामा भएको कार्यक्रममा जिल्लाका सबै स्थानीय तहका पशु शाखा प्रमुख, पशु प्राविधिक तथा भ्याक्सिनेटरहरूको सहभागिता रहेको थियो । पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख डा. अनुप श्रेष्ठले जिल्लामा पछिल्लो समय खोरेत रोगको संक्रमण देखिन थालेपछि समयमै नियन्त्रणका उपाय अपनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा रोगको पहिचान गर्ने तरिका, नमुना संकलन तथा प्रयोगशालामा पठाउने प्रक्रिया, खोप व्यवस्थापन र प्रभावकारी रूपमा खोप अभियान सञ्चालन गर्ने विषयमा प्राविधिक प्रशिक्षण प्रदान गरिएको छ । कार्यक्रमका क्रममा स्थानीय तहमा सञ्चालन हुने खोप अभियानका लागि आवश्यक भ्याक्सिन क्यारियर, सिरिन्ज, सुई तथा अन्य स्वास्थ्य सामग्री सम्बन्धित प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ । केही दिनअघि कुमाख गाउँपालिकामा खोरेत रोगको संक्रमण पुष्टि भएपछि रोग अन्य क्षेत्रमा फैलिन नदिन पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतसँगको समन्वयमा जिल्लाभर आवश्यक सामग्री उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले पशुजन्य रोग नियन्त्रणका लागि स्थानीय तह, प्राविधिक र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटाले किसानलाई समयमै सचेत गराउँदै नियमित खोप अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा. अर्जुन पण्डितले खोरेत रोग अत्यन्त संक्रामक भएकाले प्रारम्भिक अवस्थामै रोगको पहिचान, नियमित खोप र जैविक सुरक्षा उपाय अपनाउनुपर्ने बताए ।
कुनै क्षेत्रमा संक्रमण देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराई नियन्त्रणका उपाय प्रभावकारी रूपमा लागू गर्न उनले आग्रह गरे । कार्यक्रममा खोरेत रोगको रोकथाम, नमुना व्यवस्थापन, खोप अभियानलाई प्रभावकारी बनाउने रणनीति तथा सरोकारवाला निकायबीच समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो । सहभागीहरूले जिल्लाभर नियमित खोप अभियान सञ्चालन गर्दै रोगको संक्रमण फैलिन नदिन सामूहिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।








