डोल्पा । जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालय तथा स्वास्थ्य संस्थामा समय व्यवस्थापनको संस्कार विकास र बाल स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले घडी, भित्ते पात्रो तथा स्वास्थ्य सचेतनामूलक फ्लेक्स ब्यानर वितरण गरिएको छ । कान्ति बाल अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ प्रा. डा. रोमा बोराको सहयोग तथा त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीको पहलमा नगरपालिकाभित्रका २९ वटा सामुदायिक विद्यालय र पाँच वटा स्वास्थ्य संस्थालाई एक–एक थान भित्ते घडी, भित्ते पात्रो तथा कान्ति बाल अस्पतालका जानकारीमूलक फ्लेक्स ब्यानर उपलब्ध गराइएको हो ।
वडा नं. एकको कार्यालयमा आयोजित कार्यक्रममार्फत उपप्रमुख घर्तीले त्रिपुरा माध्यमिक विद्यालय काटियाचौरका प्रधानाध्यापक तुलबहादुर विष्ट र त्रिपुरासुन्दरी स्वास्थ्य चौकीका जनस्वास्थ्य अधिकृत सुजन कठायतलाई प्रतीकात्मक रूपमा सामग्री हस्तान्तरण गरे । त्यसपछि सम्बन्धित विद्यालय र स्वास्थ्य संस्थामा सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख घर्तीले विद्यालयमा समयको सही व्यवस्थापन र अनुशासनको संस्कार विकास गर्न घडी वितरण गरिएको बताइन् ।
उनका अनुसार समयको मूल्यबारे विद्यार्थी र शिक्षकलाई थप जिम्मेवार बनाउँदै शैक्षिक गतिविधिलाई व्यवस्थित बनाउन यस्ता सामग्री उपयोगी हुने विश्वास लिइएको छ । उनले स्वास्थ्य संस्थामार्फत समुदायमा बाल स्वास्थ्यसम्बन्धी जानकारी विस्तार गर्न तथा कान्ति बाल अस्पतालसँगको सहकार्यलाई थप प्रभावकारी बनाउन स्वास्थ्य सचेतनामूलक फ्लेक्स ब्यानर र भित्ते पात्रो वितरण गरिएको जानकारी दिए । यस्ता सामग्रीले बाल तथा नवजात शिशुको स्वास्थ्य, समयमै उपचार र नियमित स्वास्थ्य परीक्षणबारे जनचेतना फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई विकासको प्राथमिक आधार मानेर विभिन्न साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । स्थानीय विद्यालय र स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्ता सहयोगात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने नगरपालिकाको भनाइ छ । सहभागीहरूले पनि विद्यालयमा समय अनुशासन कायम गर्न, शैक्षिक वातावरण सुधार गर्न तथा स्वास्थ्य संस्थामार्फत समुदायमा स्वास्थ्यसम्बन्धी सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न वितरण गरिएका सामग्री उपयोगी हुने विश्वास व्यक्त गरेका छन्। स्थानीय तह, स्वास्थ्य क्षेत्र र विशेषज्ञ चिकित्सकबीचको सहकार्यले दुर्गम क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।








