२०८३ असार १३ , शनिबार

कर्णालीमा टी–२० क्रिकेट प्रतियोगिता हुदै



सुर्खेत । कर्णाली खेलकुद परिषद्को सहयोग तथा कर्णाली प्रदेश क्रिकेट संघको आयोजनामा प्रदेशस्तरीय टी–२० क्रिकेट प्रतियोगिता ‘कर्णाली क्रिकेट कप २०८३’ आयोजना हुने भएको छ । प्रतियोगिता असार १४ गतेदेखि १८ गतेसम्म सुर्खेतमा सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशका प्रत्येक जिल्लामा क्रिकेट खेलको पहुँच विस्तार गर्ने, नयाँ प्रतिभावान खेलाडीको पहिचान गर्ने, खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर उपलब्ध गराउने तथा प्रदेशमा क्रिकेटको समग्र विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा कर्णाली प्रदेशका आठ जिल्लाका टोलीहरू सहभागी हुनेछन् । सहभागी जिल्लामा मुगु, कालिकोट, जुम्ला, दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र रुकुम पश्चिम रहेका छन् । यी जिल्लाका उत्कृष्ट खेलाडीबीच हुने प्रतिस्पर्धाले प्रदेशस्तरमा क्रिकेटको गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ । प्रतियोगिताका खेलहरू जिल्ला क्रिकेट मैदान कालिन्चोक तथा वीरेन्द्रनगरस्थित दुई मैदानमा सञ्चालन गरिनेछन् ।

दर्शक तथा क्रिकेटप्रेमीलाई सहज रूपमा प्रतियोगिता हेर्न मिलोस् भन्ने उद्देश्यले सम्पूर्ण खेलहरू Kastamandav TV मार्फत प्रत्यक्ष प्रसारण (लाइभ) गरिने व्यवस्था मिलाइएको सचिव केसीले जानकारी दिए । प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक र आकर्षक बनाउन विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको विजेता टोलीले रु. एक लाख एक हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई रु. ५१ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिनेछ ।

उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही रु. पाँच हजार, प्लेयर अफ द सिरिजलाई रु. १० हजार तथा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई रु. दुई हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । कर्णाली प्रदेश क्रिकेट संघले यस प्रतियोगिताले प्रदेशभर क्रिकेट गतिविधि विस्तार गर्न, जिल्लास्तरमा नयाँ खेलाडी उत्पादन गर्न तथा राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ । प्रतियोगिताले कर्णालीमा क्रिकेटप्रतिको आकर्षण बढाउनुका साथै प्रदेशको खेलकुद विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार १३ गते शनिबार