सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेतको आयोजनामा ‘डिजिटल मिडियामा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार वीरेन्द्रनगरमा गरिएकाे छ । नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन बिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले डिजिटल पत्रकारिताले सूचना प्रवाहलाई छिटो, सहज र व्यापक बनाएको उल्लेख गर्दै यसको विश्वसनीयता, व्यावसायिकता र आचारसंहिताको पालनामा विशेष ध्यान दिनुपर्ने बताए । उनले डिजिटल मिडियाको तीव्र विस्तारसँगै पत्रकारहरूको जिम्मेवारी पनि बढ्दै गएको धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य नगेन्द्र उपाध्यायले डिजिटल युगमा पत्रकारिताको विश्वसनीयता कायम राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताए । तथ्यमा आधारित, सत्य र सन्तुलित समाचार सम्प्रेषण गर्न पत्रकारहरू अझ जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले डिजिटल मिडियाले पत्रकारितामा नयाँ अवसर सिर्जना गरे पनि भ्रामक सूचना, अपुष्ट समाचार र सामाजिक सञ्जालको दुरुपयोग जस्ता चुनौतीसँग जुध्नुपर्ने अवस्था रहेको बताए ।
उनले पत्रकारहरूको क्षमता अभिवृद्धि र डिजिटल सीप विकास आवश्यक रहेकोमा जोड दिए । गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष प्रकाश सारुले डिजिटल मिडियाले नागरिकलाई सूचनामा सहज पहुँच दिलाएको उल्लेख गर्दै यसको प्रभावकारी उपयोगका लागि जिम्मेवार पत्रकारिता आवश्यक रहेको बताए । उनले सञ्चारमाध्यम र सरोकारवाला निकायबीच सहकार्यलाई थप मजबुत बनाउनुपर्ने धारणा राखे ।
कार्यक्रमको अध्यक्षता गरेका नेपाल प्रेस युनियन सुर्खेतका अध्यक्ष मधुवन बिसीले डिजिटल पत्रकारिता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै बदलिँदो सञ्चार प्रविधिसँगै पत्रकारहरूले आफ्नो क्षमता, सीप र व्यावसायिक दक्षता अभिवृद्धि गर्नुपर्ने बताए । उनले यस्ता अन्तरक्रिया कार्यक्रमले पत्रकारहरूलाई समसामयिक विषयमा जानकारी आदानप्रदान गर्न र डिजिटल पत्रकारिताका अवसर तथा चुनौतीबारे साझा धारणा बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा सुर्खेतका पत्रकार, सञ्चारकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।








