सिमकोट । स्वास्थ्य सेवा कार्यालय हुम्लाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रम तथा गतिविधिको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्ययोजना निर्माण गर्ने उद्देश्यले आयोजित दुईदिने जिल्ला स्तरीय समीक्षा तथा कार्ययोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा आर्थिक वर्षभरि सञ्चालन भएका स्वास्थ्य कार्यक्रम, विशेषज्ञ सेवा, सफल शल्यक्रिया, प्रयोगशाला सेवा, सरुवा तथा नसर्ने रोग नियन्त्रणका गतिविधि तथा जिल्लाको स्वास्थ्य क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।
कार्यक्रममा प्रस्तुत विवरण अनुसार दुर्गम जिल्ला हुम्लामा स्वास्थ्य सेवाको पहुँच विस्तार, उपचार सेवा सुधार तथा आधारभूत स्वास्थ्य सुविधाको उपलब्धतामा उल्लेखनीय प्रगति भएको जनाइएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले सीमित स्रोत–साधनका बाबजुद जिल्लावासीलाई सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न कार्यक्रम सञ्चालन गरिएक बताए । उनले आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वय गरी नयाँ योजना कार्यान्वयन गरिने जानकारी दिए ।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले विगतका वर्षको तुलनामा जिल्लाको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको बताउँदै जिल्ला स्वास्थ्य कार्यालयदेखि सातवटै स्थानीय तहसम्म स्वास्थ्य सेवाको गुणस्तर बढेको उल्लेख गरे । उनले स्वास्थ्यकर्मीलाई सेवाप्रति थप जिम्मेवार र नागरिकमैत्री बन्न आग्रह गर्दै हुम्लामै जटिल प्रकृतिका बिरामीको सफल शल्यक्रिया हुनु तथा आर्थिक रूपमा कमजोर नागरिकले सहज उपचार पाउनु जिल्लाका लागि सकारात्मक उपलब्धि भएको बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माले स्वास्थ्य सेवा कार्यालयले गरेका कामको प्रशंसा गर्दै विगतको तुलनामा जिल्लाको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन आएको बताए । उनले आगामी दिनमा स्वास्थ्य सेवा अझ प्रभावकारी, गुणस्तरीय र सबै नागरिकको पहुँचमा पुग्ने विश्वास व्यक्त गरे । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित गोष्ठी स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।








