मुसिकोट । रुकुम पश्चिमका सञ्चारकर्मीलाई स्वास्थ्यसम्बन्धी तथ्यपरक समाचार सम्प्रेषण, जनस्वास्थ्य प्रवर्द्धन तथा स्वास्थ्य कार्यक्रमप्रति नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्वास्थ्य प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा शनिबार मुसिकोट नगरपालिकामा सञ्चार तथा पैरवी कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जिल्लामा क्रियाशील विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले स्वास्थ्य क्षेत्रका प्राथमिकता बुझाउने, तथ्यमा आधारित स्वास्थ्य समाचार प्रवाहलाई प्रोत्साहन गर्ने तथा स्वास्थ्य कार्यक्रमप्रति नागरिकको सहभागिता र जनचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले स्वास्थ्यसम्बन्धी सही सूचना समयमै नागरिकसम्म पुग्दा स्वास्थ्य सेवाप्रति विश्वास बढ्नुका साथै गलत सूचना फैलिन नदिने वातावरण तयार हुने उल्लेख गरे ।
कार्यक्रममा स्वास्थ्य र सञ्चारबीचको सम्बन्ध, स्वास्थ्य समाचारको महत्व, स्वास्थ्यसम्बन्धी समाचार लेख्दा अपनाउनुपर्ने सावधानी, गलत सूचना र त्यसको प्रभाव, सुर्तीजन्य पदार्थले जनस्वास्थ्यमा पार्ने असर, स्वास्थ्य आपतकालीन अवस्थाको सञ्चार व्यवस्थापन, स्वास्थ्य सेवा कार्यालयबाट उपलब्ध हुने सूचना तथा स्वास्थ्य क्षेत्रमा सञ्चारकर्मीले खेल्नुपर्ने भूमिकाका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरे, जनस्वास्थ्य अधिकृत हरिबहादुर पुन, जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंह तथा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका शाखा अधिकृत लक्ष्मीप्रसाद लामिछानेले विभिन्न विषयमा सहजीकरण गरेका थिए ।
उनिहरुले स्वास्थ्यसम्बन्धी सूचना सम्प्रेषण गर्दा तथ्य, विश्वसनीयता र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले स्वास्थ्यसम्बन्धी सूचना प्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रम उपयोगी भएको धारणा व्यक्त गरेका थिए । आयोजकले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्र र सञ्चारमाध्यमबीच समन्वय तथा सहकार्यलाई थप सुदृढ बनाउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।








