२०८३ असार १४ , आइतबार

करेसाबारीबाट आत्मनिर्भर बन्दै सुर्खेतका महिला



वीरेन्द्रनगर । सुर्खेतका महिलाहरूले आफ्नै करेसाबारीलाई पोषण, स्वास्थ्य र आम्दानीको भरपर्दो आधार बनाएका छन् । स्वास्थ्य आमा समूहमा आबद्ध महिलाहरूले विषादीरहित प्राङ्गारिक तरकारी उत्पादन गर्दै परिवारको पोषण सुधारसँगै आर्थिक सशक्तीकरणतर्फ उल्लेखनीय फड्को मारेका छन् । सुर्खेतका वीरेन्द्रनगर, लेकवेशी, भेरीगंगा, गुर्भाकोट नगरपालिका र बराहताल गाउँपालिकामा सञ्चालन भइरहेको पोषण परियोजनामार्फत महिलाहरूले घरघरमा करेसाबारी विस्तार गर्दै पोषणयुक्त खाद्यान्न उत्पादन गरिरहेका छन् ।

घरायसी उपभोगपछि अतिरिक्त उत्पादन स्थानीय बजारमा बिक्री हुन थालेपछि महिलाको आम्दानीसमेत बढेको छ । वीरेन्द्रनगर नाैका कृष्ण चौधरीले पहिले घरायसी प्रयोजनका लागि मात्र तरकारी उत्पादन गर्ने गरे पनि अहिले महिला जागरण स्वास्थ्य आमा समूहमा आबद्ध भएपछि उत्पादन बढाएर बजारसम्म पुर्‍याउन सफल भएको बताए । उनका अनुसार यसले परिवारलाई ताजा र पोषणयुक्त खाना उपलब्ध गराउनुका साथै अतिरिक्त आम्दानीको स्रोत पनि बनेको छ ।

लेकवेशी नगरपालिका नाैकी दिपा पौडेलले स्वास्थ्य आमा समूहमार्फत पोषण, सरसफाइ र स्वस्थ जीवनशैली सम्बन्धी गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएकी छन् । पोषण मेलाले आफ्नै उत्पादन प्रदर्शन र बिक्री गर्ने अवसर मिलेकाले महिलाको उत्साह बढेको उनकाे भनाइ छ । यस्तै, भेरीगंगा–१२ की भूमिसरा बिसीले स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको बताइन् । सुन्दर नेपाल संस्थामार्फत कियर नेपाल र आइडीई नेपालको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको परियोजनाले पाँच स्थानीय तहमा अर्गानिक खेती, पोषण सुधार र कुपोषण न्यूनीकरणमा काम गरिरहेको छ ।

कार्यक्रम संयोजक चन्द्रबहादुर थापाका अनुसार स्थानीय उत्पादन प्रवर्द्धन, स्वस्थ आहारको प्रवर्द्धन र दिगो कृषि प्रणाली विकास परियोजनाको मुख्य उद्देश्य हो । सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले गर्भवती महिला, सुत्केरी आमा र बालबालिकाको पोषण सुधारमा कार्यक्रम प्रभावकारी बन्दै गएको बताए । गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले करेसाबारी अभियानले महिला सशक्तीकरण, पोषण सुधार र स्थानीय उत्पादन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याएको भन्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार