२०८३ असार १४ , आइतबार

सुनमाया बुढा बनिन् इटाली दौडकी विजेता



जुम्ला ।  नेपाली अल्ट्रा धाविका सुनमाया बुढाले इटालीमा सम्पन्न प्रतिष्ठित ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगितामा उपाधि जित्दै नयाँ इतिहास रच्न सफल भएकी छन् । इटालीको कोर्टिना द आम्पेज्जोमा आयोजित एक सय २० किलोमिटर दूरीको उक्त दौडमा सुनमायाले १३ घण्टा ३३ मिनेट एक सेकेन्डमा लक्ष्य पूरा गर्दै नयाँ कोर्स रेकर्ड कायम गरेकी हुन् । यसअघि सन् २०१५ मा फ्रान्सकी क्यारोलिन शाभेरोले १३ घण्टा ४० मिनेट ३४ सेकेन्डमा उक्त दूरी पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।

प्रतियोगिताको प्रारम्भिक चरणमा सुनमाया अष्ट्रेलियाकी धाविका लुसी बार्थोलोम्यूसँग कडा प्रतिस्पर्धामा रहेकी थिइन् । तर दौडको निर्णायक चरणमा उनले गति बढाउँदै अग्रता बनाइन् र अन्तिम खण्डमा प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितिन् । आयोजकले सामाजिक सञ्जालमार्फत सुनमायालाई ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल–१२० के’ को नयाँ क्विनका रूपमा घोषणा गर्दै उनको सन्तुलित, रणनीतिक र उत्कृष्ट प्रदर्शनको प्रशंसा गरेको छ ।

साथै, उनले १३ वर्ष पुरानो कोर्स रेकर्ड तोड्दै ऐतिहासिक उपलब्धि हासिल गरेको उल्लेख गरिएको छ । जुम्ला जिल्लाको पातारासी गाउँपालिकाकी स्थायी बासिन्दा सुनमायाको यस सफलताले अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल रनिङमा नेपालको प्रतिष्ठा थप उँचो बनाएको छ । उनी पछिल्लो समय विश्वस्तरका कठिन दौड प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी छन् ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार