२०८३ असार १९ , शुक्रबार

सल्यानमा पत्र लेखन प्रतियोगिता



सल्यान । आधुनिक सूचना प्रविधिको विस्तारसँगै परम्परागत पत्र लेख्ने बानी हराउँदै गइरहेका बेला सल्यानमा विद्यार्थीहरूलाई हस्तलिखित पत्र लेखनतर्फ आकर्षित गर्ने उद्देश्यले पत्र लेखन प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला हुलाक कार्यालय सल्यानको आयोजनामा कपुरकोट गाउँपालिका चार किमुचौरस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बिहीबार पत्र लेखन प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा विद्यार्थीहरूले कागज र कलममार्फत आफ्ना भावना, विचार र सिर्जनात्मक अभिव्यक्तिलाई पत्रको माध्यमबाट प्रस्तुत गरेका थिए ।

विद्यालयका अनुसार प्रतियोगितामा कक्षा १० की विनिता राना प्रथम, कक्षा १२ की पूजा बस्नेत द्वितीय तथा कक्षा १२ की हेमा बस्नेत तृतीय भइन् । त्यसैगरी कक्षा आठकी मेनिशा सेन र कक्षा १२ की करिना महतरा सान्त्वना पुरस्कारबाट सम्मानित भए । कार्यक्रममा जिल्ला हुलाक कार्यालय सल्यानका प्रमुख चिन्तामणि रेग्मीले सूचना प्रविधिको विकासले सन्देश आदान–प्रदानलाई सहज बनाएको भए पनि हस्तलिखित पत्रको आत्मीयता, संवेदनशीलता र भाषिक सौन्दर्यको विकल्प हुन नसक्ने बताए । उनले विद्यार्थीहरूमा नेपाली भाषाप्रतिको रुचि, सिर्जनशील सोच र लेखन संस्कृतिको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेल, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले डिजिटल युगमा हस्तलेखन, साहित्यिक सिर्जना र नेपाली भाषाप्रतिको लगाव बढाउन यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए । उनीहरूका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको रचनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै पत्र लेखनजस्तो सांस्कृतिक अभ्यासलाई पनि जीवन्त राख्न सहयोग पुग्नेछ ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार