दैलेख । दैलेखको महाबु गाउँपालिका दुई स्थित वडाखोलालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको पोषणमैत्री स्थानीय शासनका पाँच विषयगत क्षेत्रअन्तर्गतका ४७ वटा सूचक पूरा गरेपछि आइतबार वडालाई औपचारिक रूपमा पोषणमैत्री वडा घोषणा गरिएको हो । गाउँपालिकाका अनुसार पोषण, स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ, कृषि र स्थानीय शासनसँग सम्बन्धित सबै आवश्यक मापदण्ड पूरा भएपछि घोषणा कार्यक्रम आयोजना गरिएको हो ।
स्थानीय सरकार, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा समुदायको संयुक्त प्रयासबाट आवश्यक सूचक पूरा गर्न सफल भएको जनाइएको छ । घोषणा कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार बिसीले पोषणमैत्री वडा घोषणा स्थानीय सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले सरकारले निर्धारण गरेका मापदण्ड पूरा गरी वडाले उदाहरणीय काम गरेको उल्लेख गर्दै अन्य वडाले पनि यही अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले पोषणमैत्री अभियान नागरिकको स्वास्थ्य, पोषण र जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । दैलेखमा आमा तथा बालबालिकामा अझै कुपोषणको समस्या रहेकाले त्यसलाई न्यूनीकरण गर्न स्थानीय तहले निरन्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने उनकाे भनाइ थियो ।
महाबु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले पोषणमैत्री वडा घोषणा सम्भव बनाउन योगदान गर्ने वडा कार्यालय, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, कर्मचारी तथा स्थानीय समुदायप्रति धन्यवाद व्यक्त गरे । उनले गाउँपालिकाका बाँकी वडालाई पनि क्रमशः पोषणमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित आवश्यक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । स्थानीय तहले पोषण सुधार, स्वास्थ्य सेवा सुदृढीकरण र समुदायको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।









