डोल्पा । जिल्जाकाे जगदुल्ला गाउँपालिका पाँच गैरीगाउँमा आइतबार आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत वितरणको काम तीव्र पारिएको छ । जिल्ला विपद् कमाण्ड पोस्ट, जगदुल्ला गाउँपालिका, जगदुल्ला हाइड्रोपावर कम्पनी, नेपाल बैंक तथा विभिन्न संघसंस्थाले खाद्यान्न, लत्ताकपडा, त्रिपाल र नगद राहत उपलब्ध गराउँदै प्रभावित परिवारको उद्धार तथा पुनःस्थापनामा सहयोग गरिरहेका छन् । जिल्ला विपद् कमाण्ड पोस्टको समन्वयमा संकलित राहत सामग्री प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले गाउँपालिका अध्यक्ष नारासिंह रोकायालाई हस्तान्तरण गरेका छन् ।
गाउँपालिकाले सोमबारदेखि प्रभावित परिवारलाई राहत वितरण सुरु गर्ने जनाएको छ । हस्तान्तरण गरिएको राहतमा त्रिपाल, चिउरा, भुजा, चाउचाउ, बिस्कुट, कम्बल, बाल्टिन, जग, शाल, डेग्ची, लत्ताकपडा, जुत्ता, चप्पल तथा ४२ हजार पाँच सय १५ रुपैयाँ नगद समावेश छ । राहत सामग्री उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी र जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको सहयोगमा संकलन गरिएको हो। यसअघि गाउँपालिकाले आफ्नै स्रोतबाट चार लाख ६० हजार रुपैयाँ राहत वितरण गरिसकेको छ ।
गाउँपालिका अध्यक्ष नारासिंह रोकायाका अनुसार पूर्ण रूपमा विस्थापित सात परिवारलाई प्रतिपरिवार ३० हजार रुपैयाँ र आंशिक क्षति भएका १९ परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ प्रदान गरिएको छ । बाढीमा ज्यान गुमाएकी आनन्दी विकको परिवारलाई थप ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनीले पनि करिब एक लाख ७० हजार रुपैयाँ बराबरको खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ । कम्पनीले चामल, खाने तेल र चाउचाउ प्रभावित परिवारलाई हस्तान्तरण गरेको जनाएको छ । गाउँपालिकाका अनुसार बाढीबाट ३५ घरधुरी प्रभावित भएका छन् भने सात घरधुरी पूर्ण रूपमा विस्थापित भएका छन् ।
हाल उनीहरूलाई आफन्तको घरमा अस्थायी रूपमा बसोबासको व्यवस्था मिलाइएको छ । जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बाढीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिका अध्यक्ष रोकायाले तत्काल राहतसँगै पुनःस्थापना, सुरक्षित आवास व्यवस्थापन र पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताउँदै विपद्को समयमा सहयोग गर्ने सबै सरकारी निकाय, निजी क्षेत्र, बैंक तथा सामाजिक संघसंस्थाप्रति आभार व्यक्त गरे ।









