जुम्ला । दलित महिलामाथि हुने जातीय विभेद, लैङ्गिक हिंसा तथा छुवाछुतका घटनालाई न्यूनीकरण गर्दै कानुनी अधिकारबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जुम्लामा दलित महिला सशक्तीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । चन्दननाथ नगरपालिकाको सहयोग तथा दलित सेवा संघ, जुम्लाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा नगरपालिकाभित्रका दलित महिलाको उल्लेखनीय सहभागिता रहेको छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, जुम्लाकी प्रमुख कल्पना आचार्य नेपालले दलित महिलाको वर्तमान अवस्था, उनीहरूले भोगिरहेका विभेद तथा विद्यमान कानुनी व्यवस्थाका विषयमा प्रशिक्षण दिएकी थिइन् । यस्तै, अधिवक्ता नन्दबहादुर खत्रीले जातीय भेदभाव तथा छुवाछुतविरुद्धको संवैधानिक व्यवस्था, कानुनी अधिकार, न्याय प्राप्त गर्ने प्रक्रिया तथा क्षतिपूर्तिसम्बन्धी प्रावधानबारे प्रस्तुतीकरण गरेका थिए । उनले जातका आधारमा कुनै पनि प्रकारको विभेद कानुनविपरीत रहेको उल्लेख गर्दै दोषीलाई कानुनअनुसार कडा कारबाही हुने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले पनि दलित महिला सशक्तीकरण, विभेद न्यूनीकरण तथा साइबर अपराधसम्बन्धी सचेतनामूलक प्रस्तुतीकरण गरेका छन् । दलित सेवा संघ, जुम्लाका अध्यक्ष भीमबहादुर नेपालीले संविधान र कानुनमार्फत विभिन्न अधिकार सुनिश्चित भए पनि व्यवहारमा दलित समुदायले अझै पनि विभेद र उपेक्षा भोग्नुपरेको बताए ।
पछिल्लो समय जुम्लामा जातीय विभेदका घटनामा वृद्धि देखिएकाले समुदायस्तरमा सचेतना र सशक्तीकरणका कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले दलित समुदायभित्र एकताको कमी, कानुनी व्यवस्था कार्यान्वयनमा कमजोरी तथा सामाजिक व्यवहारमा परिवर्तन नआउनु मुख्य चुनौतीका रूपमा रहेको उल्लेख गरे। “जातका आधारमा हुने विभेद कानुनले पूर्ण रूपमा निषेध गरेको छ ।
कानुनी अज्ञानता कसैका लागि पनि बहाना बन्न सक्दैन । त्यसैले सबै नागरिकलाई आफ्ना अधिकार र कानुनी व्यवस्थाबारे जानकारी गराउन यस्ता कार्यक्रम आवश्यक छन्,” अध्यक्ष नेपालीले भने । नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको अभिमुखीकरण कार्यक्रममार्फत दलित महिलालाई सशक्त बनाउनुका साथै जातीय विभेद, छुवाछुतविरुद्धका कानुनी व्यवस्था, दण्ड सजाय र क्षतिपूर्तिसम्बन्धी जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ ।








