जुम्ला । जिल्लाकाे चन्दननाथ नगरपालिका तिन शान्तिनगरका ६१ वर्षीय भक्तबहादुर कठायतले शिलाजित सङ्कलन तथा बिक्रीलाई मुख्य पेशाका रूपमा अपनाएर वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । विगत करिब २७ वर्षदेखि निरन्तर शिलाजित सङ्कलन गर्दै आएका उनले यस व्यवसायबाट आफ्नो परिवारको आर्थिक अवस्था सुदृढ बनाएको बताएका छन् । कठायतले २०५६ सालदेखि जुम्लाका उच्च हिमाली क्षेत्रमा पाइने शिलाजित सङ्कलन गर्दै व्यापार सुरु गरेका हुन् ।
सुरुका वर्षहरूमा सीमित परिमाणमा सङ्कलन हुने गरेको भए पनि अनुभवसँगै उत्पादन र बजार दुवै विस्तार भएको उनको भनाइ छ । अहिले उनले सङ्कलन गरिएको शिलाजित प्रशोधन गरी प्याकिङ गरेर देशका विभिन्न जिल्लामा बिक्री गर्दै आएका छन् । उनका अनुसार यस वर्ष मात्रै १० केजी शिलाजित सङ्कलन गरी बिक्री गर्दा करिब १० लाख रुपैयाँ आम्दानी भएको छ । प्याकिङ गरिएको शिलाजित प्रतितोला एक हजार दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ भने एक केजी शिलाजितको बजार मूल्य करिब एक लाख रुपैयाँसम्म पुग्ने गरेको उनले बताए ।
कठायतका अनुसार कच्चा शिलाजित बिक्री गर्नुभन्दा प्रशोधन गरी गुणस्तरीय प्याकिङ गरेर बजारमा पठाउँदा दोब्बरभन्दा बढी मूल्य प्राप्त हुने भएकाले केही वर्षयता मूल्य अभिवृद्धिमा जोड दिएका छन् । गुणस्तर कायम गर्दै आकर्षक प्याकिङमा बिक्री गर्दा ग्राहकको विश्वास बढ्नुका साथै बजार विस्तार गर्न पनि सहज भएको उनको अनुभव छ । उनले जुम्ला, सुर्खेत, नेपालगञ्ज, काठमाडौं लगायतका बजारमा शिलाजित बिक्री गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा प्राकृतिक तथा जडीबुटीजन्य उत्पादनप्रति मानिसहरूको आकर्षण बढ्दै गएकाले शिलाजितको माग पनि निरन्तर बढिरहेको उनले बताए । तर शिलाजित सङ्कलन भने अत्यन्तै जोखिमपूर्ण काम भएको उनको अनुभव छ ।
शिलाजित उच्च हिमाली भेगका भीरालो चट्टानका साँघुरा कापमा जम्ने भएकाले त्यसलाई निकाल्न सयौँ मिटर अग्ला भीरमा डोरीको सहारामा झुन्डिनुपर्ने अवस्था हुन्छ । कमजोर मौसम, चिप्लो चट्टान र कठिन भौगोलिक अवस्थाका कारण सङ्कलनका क्रममा हरेक क्षण ज्यानको जोखिम हुने गरेको उनले बताए । “शिलाजित निकाल्न बिहानैदेखि साँझसम्म भीरमै काम गर्नुपर्छ । एउटा सानो गल्तीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ,” कठायतले भने, “जोखिम धेरै भए पनि यही पेशाले परिवार चलाउन र राम्रो आम्दानी गर्न सहयोग गरेको छ ।”
उनले शिलाजितको गुणस्तर कायम राख्न सङ्कलनपछि सफाइ, प्रशोधन र प्याकिङमा विशेष ध्यान दिने गरेको बताए । बजारमा गुणस्तरीय उत्पादन उपलब्ध गराउन सके राम्रो मूल्य पाइने भएकाले यसतर्फ सबै सङ्कलकले ध्यान दिनुपर्ने उनको सुझाव छ । स्थानीय स्तरमा पाइने बहुमूल्य जडीबुटीको उचित व्यवस्थापन, प्रशोधन तथा बजारीकरण गर्न सके ग्रामीण क्षेत्रका नागरिकको आयआर्जन वृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्ने उनको विश्वास छ । राज्यले शिलाजित सङ्कलकलाई आवश्यक तालिम, सुरक्षा सामग्री र बजार व्यवस्थापनमा सहयोग गरे यस व्यवसायबाट अझ धेरै युवाले रोजगारी र आम्दानीको अवसर प्राप्त गर्न सक्ने उनले बताए ।









