२०८३ भदौ ११ , बिहीबार

आस्था, प्रकृति र पर्यटनको अनुपम संगम, महाबु धाम



दैलेख । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र पर्यटनको प्रचुर सम्भावना बोकेको दैलेखको महाबु धाम पछिल्लो समय आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । दैलेखको महाबु गाउँपालिकामा पर्ने महाबु लेक दैलेख र कालिकोट जिल्लाको सीमाक्षेत्रमा अवस्थित छ । समुद्री सतहबाट करिब चार हजार दुई सय मिटर उचाइमा रहेको यस क्षेत्रलाई पहिले ‘गाथ’ भनिन्थ्यो । अहिले भने महाबु धाम वा महाबु गाथका रूपमा परिचित छ ।

महाबु विशाल र हरियाली पाटन, अग्ला लेक, स्वच्छ हावापानी र मनोरम प्राकृतिक दृश्यले भरिएको छ । कुनै समय दैलेख, कालिकोट र जुम्लालगायतका क्षेत्रबाट गोठालाहरू भैँसी तथा भेडाबाख्रा चराउन यहाँ आउने गर्दथे । पाटनमा चरिरहेका भेडाबाख्रा, शान्त वातावरण र चारैतिर देखिने पहाडी भू-दृश्यले महाबुको आकर्षण थप बढाएको छ । महाबुको धार्मिक महत्त्व भने यहाँ रहेको शिवलिङ्गसँग जोडिएको छ । विशाल ढुङ्गामाथि रहेको शिवथानमा स्थानीय तथा भक्तजनको गहिरो आस्था छ । प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा यहाँ विशेष पूजाआजा र मेला लाग्ने गर्दछ ।

नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत हजारौँ भक्तजन महाबु पुग्ने गरेका छन् । महादेवसँग मनोकामना मागे पूरा हुने जनविश्वासका कारण भक्तजनले त्रिशूल चढाउने, परिक्रमा गर्ने र विभिन्न धार्मिक विधि पूरा गर्ने गर्छन् । महाबुसँग ‘लाटो गोठालो’को चर्चित किंवदन्तीसमेत जोडिएको छ । स्थानीय विश्वासअनुसार एक गोठालोले गाईले आफैँ शिवलिङ्गमा दूध चढाउने गरेको देखेपछि उक्त स्थानमा शिवलिङ्ग भेटिएको थियो । त्यसपछि महादेवको कृपाले उनी बोल्न सक्ने भएको जनविश्वास छ ।

धार्मिक पर्यटनसँगै महाबुमा चलचित्र पर्यटनको सम्भावना पनि देखिएको छ । हिमाली भूगोल, विशाल पाटन, ग्रामीण जीवनशैली र प्राकृतिक दृश्यका कारण चलचित्र तथा डकुमेन्ट्री निर्माणका लागि यो क्षेत्र आकर्षक बन्न सक्छ।द यद्यपि सडक, आवास, धर्मशाला, खानेपानी, शौचालय, स्वास्थ्य तथा सुरक्षा सेवाको अभाव महाबुको विकासमा चुनौती बनेको छ । सडक स्तरोन्नति, आवश्यक पूर्वाधार निर्माण र प्रभावकारी प्रचारप्रसार गर्न सके महाबुलाई कर्णालीकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने देखिन्छ ।

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार