२०८३ भदौ ११ , बिहीबार

कर्णालीमा तीन मन्त्रीले लिए शपथ



सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कल्याणी खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा जुम्कित लामालाई शपथ गराउनुभएको हो । तीनै जना मन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य बनेका हुन् ।

उनीहरूको नियुक्तिसँगै मुख्यमन्त्री मंगलबहादुर शाहीले झन्डै एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । यसअघि भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारीका लागि विन्दमान विष्टको नाम तय भएको थियो । तर मन्त्रालय बाँडफाँट तथा साबिक समाजवादी पक्षको कोटाबाट मन्त्री नियुक्त गर्नुपर्ने विषयमा विवाद भएपछि अन्ततः साबिक समाजवादी पक्षकी सांसद कल्याणी खड्कालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्री शाही नेतृत्वको सरकार गठन भएलगत्तै नेकपाभित्र मन्त्री छनोटको विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो । आन्तरिक विवाद समाधान भएपछि तीन मन्त्री नियुक्त भएसँगै प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार