२०८३ भदौ ११ , बिहीबार

कर्णालीका २० स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम



हुम्ला । कर्णाली प्रदेशका नौ जिल्लाका २० स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन हुने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन एकाइ, सुर्खेतले चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्न लागेको हो । आयोजनाका कार्यान्वयन एकाइ प्रमुख कृष्णबहादुर रोकायाका अनुसार सम्भाव्यता अध्ययनका आधारमा छनोट भएका स्थानीय तहमा फलफूल बगैँचा स्थापना गरी खेती विस्तार गरिनेछ ।

कार्यक्रम अन्तर्गत हुम्लाका अदानचुली र ताँजाकोट, जुम्लाका हिमाली, सिञ्जा र कनकासुन्दरी गाउँपालिका तथा रुकुम पश्चिमका बाँफीकोट, मुसीकोट र सानीभेरी नगरपालिका छनोट भएका छन् । त्यस्तै सल्यानका सिद्धकुमाख र शारदा, जाजरकोटका छेडागाड र जुनीचाँदे, दैलेखका नारायण, आठबीस र चामुण्डाबिन्द्रासैनी नगरपालिका, कालीकोटका नरहरिनाथ र शुभकालिका, मुगुका सोरु र खत्याड तथा डोल्पाको मुड्केचुला गाउँपालिकामा कार्यक्रम सञ्चालन गरिनेछ ।

आयोजनाले बगैँचा स्थापनाका लागि सूचना प्रकाशित गरिसकेको छ । प्राप्त प्रस्तावमध्येबाट छनोट गरी कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ । रुकुम पश्चिम, सल्यान, जाजरकोट र दैलेखमा सुन्तला जातका फलफूल तथा ओखरलाई प्राथमिकता दिइनेछ । कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भने स्याउ, ओखर र कागतीलगायत फलफूल खेतीलाई प्राथमिकता दिइनेछ ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यविधि, २०८३ अनुसार किसान, कृषि समूह, सहकारी तथा कृषि उद्यमीलाई बगैँचा स्थापनाका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ । प्राविधिक लागत अनुमानका आधारमा बजेट निर्धारण गरिने र कम्तीमा एक हेक्टरदेखि बढीमा २५ हेक्टर जमिनमा बगैँचा स्थापना गर्नुपर्ने व्यवस्था छ । फलफूल खेती विस्तार गरी पहाडी तथा हिमाली क्षेत्रमा व्यावसायिक उत्पादन बढाउने, किसानको आम्दानी वृद्धि गर्ने र स्थानीय उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ ११ गते बिहीबार