डोल्पा । हिमाली जिल्ला डोल्पाको काइके गाउँपालिकाले रसुवाको गोसाइँकुण्ड गाउँपालिका दुई टिमुरेमा भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष अंगद रानाले विज्ञप्ति जारी गर्दै बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
उनका अनुसार विपद्मा परेका नागरिकको तत्काल खोज तथा उद्धार, राहत वितरण र आवश्यक सहयोगमा सहजता होस् भन्ने उद्देश्यले गाउँपालिकाले सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । गाउँपालिकाले उक्त एक लाख रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत उपलब्ध गराउने जनाएको छ ।
विपद्को समयमा प्रभावित परिवारलाई राहत तथा उद्धारका लागि आवश्यक स्रोत परिचालन गर्नुपर्ने भएकाले स्थानीय तहबाट सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष रानाले बताए । बुधबार बिहान आएको भीषण बाढीका कारण भोटेकोशी, त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको जनाइएको छ ।
बाढीका कारण नदी आसपासका बस्ती तथा संरचनामा समेत जोखिम बढेको भन्दै स्थानीय प्रशासनले उद्धार तथा राहतका कामलाई प्राथमिकता दिएको छ । यसैबीच, काइके गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई थप जोखिमबाट जोगिन सुरक्षित स्थानमा जान आग्रह गरेको छ । बाढी तथा नदीको बहावमा अचानक परिवर्तन आउन सक्ने भएकाले अनावश्यक रूपमा नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको हो ।
गाउँपालिकाले विपद्को समयमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ । साथै, विपद्बाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकाय र सरोकारवालालाई समेत आग्रह गरिएको छ । काइके गाउँपालिकाले यसअघि पनि विभिन्न विपद्का घटनामा सहयोग गर्दै आएको जनाउँदै यसपटक पनि मानवीय दायित्वका रूपमा सहयोग गर्न लागेको जनाएको छ ।









