सुर्खेत । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलले आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई लाख २५ हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो । उक्त रकम संसदीय दलका १५ जना सदस्यबाट प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले संकलन गरिने सांसद बेदराज सिंहले जानकारी दिए ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन, घाइतेको उपचार तथा बेपत्ताको खोजीलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्नुपर्नेमा संसदीय दलले जोड दिएको छ । बैठकले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
संसदीय दलले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको जीवनरक्षा र सुरक्षित पुनःस्थापनाका लागि राज्यका सबै संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको जनाएको छ । त्यसैगरी, बाढीपीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन कर्णाली प्रदेश सरकारलाई समेत अनुरोध गर्ने निर्णय गरिएको सांसद सिंहले बताए । प्रदेश सरकार तथा स्थानीय तहले आफ्नो स्रोत र क्षमताअनुसार विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा बैठकले जोड दिएको छ ।
भोटेकोशी नदीमा आएको बाढीका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भएको भन्दै संसदीय दलले दुःख व्यक्त गरेको छ । विपद्को कठिन परिस्थितिमा प्रभावित परिवारलाई सहयोग गर्न राजनीतिक दल, सरकार, निजी क्षेत्र तथा नागरिक समाज सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा समेत कांग्रेस कर्णाली प्रदेश संसदीय दलले अपिल गरेको छ ।









