२०८३ भदौ ३० , मंगलबार

जोखिम सडक निर्माणले बस्ती संकटमा



रुकुम पश्चिम ।  त्रिवेणी गाउँपालिका छ बाँठाकोटको बस्तीका केहि घर पहिरोको उच्च जोखिममा रहेको छन् । त्रिवेणी गाउँपालिकाद्वारा ठेक्का लगाईएको खुरखुरे बाँठाकोट पटेरी ढुङगेघर सडक निर्माणको क्रममा बाँठाकोटमा खनिएको सडकको कारण चार घरपरिवार उच्च जोखिममा रहेका छन् ।  वर्षा लागेपछि सडक बनाउन थालेको र अधुरै छोडिदा पहिरोमा पुरिने डरले घर नै छोड्ने अवस्था आएको स्थानीय डिला खड्काले जानकारी दिए । उनका  अनुसार सडक खन्नु अघि मेसीनरी वाल र जाली लगाएर घर जोगाउने आश्वासन दिईएतापनि अहिले डोजर लगाएर सडक खनिएको छ ।

लगातारको बर्षाको कारण सडकमा पहिरो झरेको छ भने सडकको माथिल्लो भागमा रहेका दुई घर सडकमा मिसिने जोखिम बढेको छ । खड्काले सडकको माथिल्लो तर्फका दुई घर र सडकको तल्लो भागमा रहेका दुई घर अहिले उच्च जोखिममा रहेको बताए कुनै पनि बेला पहिरोले पुरिने त्रासमा रहेकोले यसको समाधान गरिदिन उनले आग्रह गरेका छन् । स्थानीयवासी समेत रहेका शिक्षक कुबेर ओलीले पहिरोले सडक माथिल्लो तर्फका दुई घर खस्ने अवस्थामा रहेको र पहिरो झरेमा सडकको तल्लो भागका दुई घर पुरिने सम्भावना रहेको बताए । यसका साथै ठुला रुख र विद्युत पोलको कारण समेत थप जोखिम रहेको उनले जानकारी दिए ।

उनले स्थानीयहरु घर छोडेर अर्कैको घरमा आश्रय लिने अवस्था रहेकोले सम्बन्धित निकायले तत्कालै ध्यान दिएर थप विपदको जोखिमबाट मुक्त बनाउनुपर्नेमा जोड दिए ।  स्थानीयहरु डिल्ली ओली, यज्ञ ओली, डिला खड्का लगायतका घरहरु उच्च जोखिममा रहेका छन् । स्थानीयले जोखिममा रहेका घरहरुको संरक्षणका लागि तत्कालै रिटेनिङ वाल लगाउनुपर्ने रबन्दाबन्दै अधुरो छोडिएको सडक पूर्ण रुपमा सम्पन्न गर्न माग गरेका छन् । यसका साथै जोखिममा रहेका परिवारको जीवन र बासस्थानको सुरक्षाको समेत माग गरेका छन् ।

यस बिषयमा त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष राजकुमारी रेउलेले स्थानीयका घरहरु पहिरोको जोखिममा रहेको जानकारी रहेको तर जिम्मेवारी लिएको निर्माण कम्पनी बेखवर भएको बताउनुभयो । ठेक्काको प्राविधिक स्टिमेटमा ती घरहरुको सुरक्षाको लागि बलियो वाल निर्माण गर्ने व्यवस्था नै रहेको तर काममा आलटाल गरिरहेको उनकाे भनाइ रहेको छ । तत्कालै पालिकाको तर्फबाट आवश्यक कदम चाल्ने समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार