सल्यान । जिल्लाबाट गत आर्थिक वर्ष २०८२/०८३ मा एक अर्ब ६३ करोड रुपैयाँभन्दा बढी मूल्यका कृषिजन्य वस्तु बाहिरी जिल्लामा निकासी भएका छन् । कृषि विकास कार्यालय सल्यानका अनुसार एक वर्षको अवधिमा तिन लाख ५७ हजार दुई सय ३२ मेट्रिकटन विभिन्न कृषिजन्य उत्पादन बिक्री हुँदा एक अर्ब ६३ करोड ३६ लाख १६ हजार रुपैयाँ जिल्लामा भित्रिएको हो ।
कार्यालयका प्रमुख महेश आचार्यका अनुसार सबैभन्दा बढी मौसमी तथा बेमौसमी ताजा तरकारी निकासी भएको छ । गत वर्ष आठ हजार चार सय ८७ मेट्रिकटन ताजा तरकारी बिक्री हुँदा किसानले ४९ करोड ७६ लाख ९० हजार रुपैयाँ आम्दानी गरेका छन् । यसैगरी, चार हजार पाँच सय ८४ मेट्रिकटन सुन्तला, कागती र किवी बिक्रीबाट ३९ करोड ९२ लाख ३२ हजार रुपैयाँ आम्दानी भएको छ ।
फलफूलका तिन लाख २५ हजार पाँच सय ५० वटा बिरुवा (नर्सरी) बिक्रीबाट एक करोड ९४ लाख ६६ हजार रुपैयाँ प्राप्त भएको कार्यालयले जनाएको छ । त्यस्तै, एक हजार पाँच सय ५० मेट्रिकटन मकै तथा बीउ बिक्रीबाट चार करोड ९६ लाख रुपैयाँ आम्दानी भएको छ । अदुवा पनि जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको छ । गत वर्ष आठ हजार चार सय सय ६५ मेट्रिकटन अदुवा निकासी हुँदा ४० करोड २० लाख ८७ हजार रुपैयाँ भित्रिएको छ ।
यस्तै, ९५ मेट्रिकटन बेसारबाट २२ लाख ५० हजार, दुई मेट्रिकटन अलैचीबाट ४० लाख ५० हजार, आठ हजार दुई सय ५० मेट्रिकटन आलुबाट २३ करोड ५० लाख ३० हजार, नाै मेट्रिकटन महबाट ९० लाख तथा तिल, भाङ्गो, सिमी, भटमास र बदाम गरी एक सय ७० मेट्रिकटन उत्पादन बिक्रीबाट २० लाख १० हजार रुपैयाँ आम्दानी भएको छ । सल्यानमा उत्पादन भएका कृषिजन्य वस्तु मुख्य रूपमा दाङ, बुटवल, नेपालगञ्ज, पोखरा र काठमाडौंलगायतका बजारमा बिक्री हुने गरेका छन् । यद्यपि उत्पादनमा सामान्य वृद्धि भए पनि आम्दानी भने घटेको तथ्यांकले देखाएको छ ।
आर्थिक वर्ष २०८१/०८२ मा तिन लाख ५५ हजार पाँच सय ९३ मेट्रिकटन कृषिजन्य वस्तु निकासी हुँदा एक अर्ब ६९ करोड १० लाख चार हजार रुपैयाँ आम्दानी भएको थियो । त्यसको तुलनामा गत आर्थिक वर्ष उत्पादन एक हजार छ सय ३९ मेट्रिकटनले बढे पनि आम्दानी चार करोड ६४ लाख ८८ हजार रुपैयाँले घटेको कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए । उनका अनुसार बजार मूल्यमा आएको गिरावटका कारण उत्पादन बढ्दा पनि किसानको कुल आम्दानीमा कमी आएको हो ।









