२०८३ साउन १६ , शनिबार

लिमीमा बाढीले पुल र ग्याबिन बगायो



हुम्ला । जिल्लाकाे उत्तरी क्षेत्र नाम्खा गाउँपालिका छ  स्थित हिमालपारिको गाउँ लिमीको तील गाउँमा आएको आकस्मिक बाढीले पुल र ग्याबिन संरचना बगाएको छ । बिहीबार राति माथिल्लो क्षेत्रबाट लेदोसहित आएको बाढीले तिलजुङ खोलामाथि निर्माण गरिएको पुल तथा खोलाको किनार संरक्षणका लागि बनाइएको ग्याबिन बगाएको हो । प्रहरी नायब निरीक्षक शंकर खड्काका अनुसार वर्षापछि तिलजुङ खोलामा अचानक पानीको बहाव बढेर बाढी आएको थियो ।

बाढीको जोखिम बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित स्थानका रूपमा गाउँ नजिकै रहेको गुम्बामा सारिएको उनले जानकारी दिए । रातिको समयमा घटना भएकाले तत्काल प्रहरी टोली घटनास्थल पुग्न नसकेको र शुक्रबार बिहानबाट टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ । बाढीबाट भएको क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको छ । स्थानीयका अनुसार पछिल्ला केही दिनदेखि लिमी क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।

वर्षा हुने र रोकिने क्रम चलिरहेकाले खोलामा पानीको सतह बढेको हो । गत वर्ष असारमा पनि हिमताल फुटेर सोही क्षेत्रमा बाढी आएको थियो । यसपटक पनि उस्तै प्रकृतिको बाढी आएपछि स्थानीयले हिमताल फुटेको हुन सक्ने आशंका गरेका छन् । स्थानीय मिग्मार लामाका अनुसार बाढीपछि गाउँका सबै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । हालसम्म मानवीय क्षति नभएको र सबै स्थानीय सुरक्षित रहेको उनले बताए । दुर्गम क्षेत्रमा पर्ने लिमीमा यातायात तथा सञ्चार सुविधा सीमित भएकाले क्षतिको वास्तविक अवस्था पत्ता लगाउनसमेत कठिनाइ भइरहेको छ । स्थानीय प्रशासनले घटनाको अनुगमन गरी आवश्यक सहयोग र व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रबार