सुर्खेत । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न स्थानमा सवारी आवागमन प्रभावित भएको छ । नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार केही प्रमुख सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही सडकमा जोखिम न्यूनीकरणका लागि निश्चित समयमा मात्र सवारी सञ्चालन गर्न दिइएको छ ।
प्रहरीका अनुसार बाढीको जोखिम बढेपछि काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा बेलुका छ बजेदेखि बिहान चार बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । त्यस्तै, जोखिमका कारण कान्तिलोकपथमा पनि बेलुका पाँच बजेदेखि बिहान पाँच बजेसम्म सवारी आवागमन बन्द गरिएको छ ।
लगातारको वर्षाका कारण इलाम नगरपालिका नाै स्थित मेची राजमार्ग हिलाम्मे भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि यातायात ठप्प भएको छ । यसैगरी दोलखाको तामाकोशी गाउँपालिका पाँच किर्नेटारमा खोलाको बहावले लामासाँघु–रामेछाप सडक कटान गरेपछि आवागमन रोकिएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका पाँच खाल्टेमा त्रिशूली नदीले पासाङ ल्हामु सडक कटान गर्दा सडक बन्द भएको छ । ललितपुरको बागमती गाउँपालिका तिन स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ भने जाजरकोट–डोल्पा सडक खण्डअन्तर्गत मूलपानीखोलामा आएको बाढीले सडक कटान गर्दा यातायात सञ्चालन हुन सकेको छैन । नेपाल प्रहरीले वर्षायाममा बाढी, पहिरो र सडक कटानको जोखिम उच्च हुने भएकाले यात्रा गर्नुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र आवश्यक सतर्कता अपनाउन यात्रुलाई आग्रह गरेको छ ।









