काठमाडौं । स्थानीय तहलाई दलीय राजनीतिको प्रभावबाट मुक्त गरी जनमुखी र प्रभावकारी बनाउनुपर्ने मागसहित ‘गैरदलीय स्थानीय तह अभियान नेपाल’ले काठमाडौंको माईतीघर मण्डलामा ऐक्यबद्धता सभा आयोजना गरेको छ।
स्थानीय सरकारको सञ्चालन, निर्णय प्रक्रिया तथा विकास निर्माणका कार्यमा राजनीतिक दलहरूको हस्तक्षेप बढ्दै गएको भन्दै अभियानले दलीय प्रभाव अन्त्य गर्न दबाब सिर्जना गर्ने उद्देश्यले सभा आयोजना गरेको हो। अभियानका अनुसार स्थानीय तह नागरिकलाई प्रत्यक्ष सेवा प्रदान गर्ने र स्थानीय विकासलाई प्राथमिकता दिने निकाय हो। तर, दलीय भागबण्डा, राजनीतिक हस्तक्षेप र पार्टीगत स्वार्थका कारण विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा नकारात्मक असर परिरहेको छ।
अभियानले जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्नेमा पार्टीको निर्देशन र दबाबमा काम गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै स्थानीय शासन प्रणालीमा नीतिगत सुधारको आवश्यकता औँल्याएको छ। स्थानीय तहलाई राजनीतिक दलहरूको प्रतिस्पर्धा र भागबण्डाको केन्द्र बन्नबाट रोक्दै जनताको आवश्यकता र प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने अभियानको माग छ।
अभियानले स्थानीय तहको निर्वाचन प्रणालीमा सुधार गरी उम्मेदवारहरू राजनीतिक दलको चुनाव चिह्न र दलीय उम्मेदवारीबिना व्यक्तिगत रूपमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्नुपर्ने माग गर्दै आएको छ। स्थानीय सरकारलाई दलीय स्वार्थभन्दा माथि राखेर नागरिकको हित, सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकता दिनुपर्नेमा पनि अभियानले जोड दिएको छ।







