२०८३ असोज ३ , शनिबार

सल्यानमा एक वर्षमा जबर्जस्ती करणीका १७ घटना



सल्यान ।  गत एक वर्षको अवधिमा जबर्जस्ती करणीका १७ वटा घटना दर्ता भएका छन् । यससँगै जबर्जस्ती करणी उद्योगका थप सात वटा घटना पनि सार्वजनिक भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आर्थिक वर्ष २०८२/८३ मा जबर्जस्ती करणी र करणी उद्योग गरी कुल २४ वटा घटना दर्ता भएका छन्, जसले जिल्लामा महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य अपराध अझै पनि गम्भीर सामाजिक चुनौतीका रूपमा रहेको देखाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी ईश्वर रोकायका अनुसार यस प्रकारका घटनाको संख्या चिन्ताजनक रहेको छ । उनका अनुसार जबर्जस्ती करणीजस्ता जघन्य अपराध हुनुमा चेतनाको कमी, सामाजिक उत्तरदायित्वको अभाव तथा पारिवारिक निगरानी कमजोर हुनु प्रमुख कारणका रूपमा देखिएका छन् । उनले यस्ता घटनाले समाजमा असुरक्षाको भावना बढाउने भएकाले सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रहरीको तथ्यांकअनुसार अधिकांश घटनामा पीडितहरू सानो उमेर समूहका रहेका छन् भने धेरैजसो घटनामा आफन्त वा चिनेजानेका व्यक्तिको संलग्नता देखिएको छ । आर्थिक वर्ष २०८१/८२ मा जबर्जस्ती करणीका २० तथा करणी उद्योगका छ घटना दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा जबर्जस्ती करणीका घटना केही घटेको देखिए पनि समग्रमा यौन हिंसाका घटना अझै उच्च रहेकाले यसलाई सामान्य रूपमा लिन नहुने प्रहरीको भनाइ छ ।

प्रहरीले पछिल्लो समय मोबाइल फोन तथा सामाजिक सञ्जालको दुरुपयोग, नैतिक मूल्य–मान्यतामा आएको ह्रास, मानवीय संवेदनशीलतामा कमी र पर्याप्त जनचेतनाको अभावका कारण यस्ता अपराध बढ्न सक्ने जनाएको छ । यस्ता घटनाको न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय सल्यानले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम, विद्यालयकेन्द्रित सचेतना अभियान तथा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

सूचना अधिकारी रोकायका अनुसार गत एक वर्षको अवधिमा जबर्जस्ती करणी, आत्महत्या, बालविवाह, लागुऔषध दुरुपयोग तथा अन्य सामाजिक अपराधसम्बन्धी विषयमा २५ हजार सात सय ३४ जनासम्म सचेतनामूलक सन्देश पुर्‍याइएको छ । प्रहरीका अनुसार समुदाय, विद्यालय, अभिभावक र सरोकारवाला निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउन सके मात्र यस्ता जघन्य अपराध न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतबार