काठमाडौं। जापानका लागि राजदूतमा प्रस्तावित जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा समितिका सभापति बोधनारायण श्रेष्ठले थापाले राजदूतका लागि प्रस्तावित नाम फिर्ता लिन लागेको जानकारी गराउनुभएको हो। सभापति श्रेष्ठका अनुसार उजुरीमाथि छलफल गर्न समितिले थापालाई बैठकमा बोलाएको थियो। सोही क्रममा भएको छलफलमा थापाले आफ्नो नियुक्ति प्रक्रियामा स्वार्थको द्वन्द्व देखिने अवस्था भए नाम फिर्ता लिन तयार रहेको बताउनुभएको थियो।
थापाले नाम फिर्ता लिने जानकारी गराए पनि त्यससम्बन्धी औपचारिक लिखित निवेदन भने आउन बाँकी रहेको सभापति श्रेष्ठले बताउनुभयो।यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा थापाको जापानमा स्थायी बसोबास अनुमति (पीआर) रहेको विषय उठेपछि उहाँको सुनुवाइ प्रक्रिया रोकिएको थियो।
समिति सदस्यहरूले विदेशी स्थायी बसोबास अनुमतिसम्बन्धी विषयमा प्रश्न उठाएपछि नियुक्ति प्रक्रियामा थप स्पष्टता खोजिएको थियो सुनुवाइका क्रममा थापाले आफूले जापानको पीआर त्यागिसकेको स्पष्टीकरण दिनुभएको थियो। तर सांसदहरूले संविधानको धारा २९१ मा रहेको व्यवस्थाका साथै पीआर त्यागेको समयावधिबारे थप प्रश्न गरेका थिए।
उक्त विषयमा आधिकारिक जानकारी लिन संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयमार्फत जापान सरकारसँग विवरण माग गरेको थियो। परराष्ट्र मन्त्रालयले जापानस्थित नेपाली दूतावासमार्फत प्राप्त विवरण समितिमा पठाएको थियो। यसरी पीआरसम्बन्धी विवाद र संवैधानिक व्यवस्थामाथि उठेका प्रश्नका बीच प्रस्तावित राजदूत थापाले आफ्नो नाम फिर्ता लिने निर्णय गरेका हुन्।








