काठमाडौँ। काठमाडौँको चावहिलमा बसको ठक्करबाट गम्भीर घाइते भएका एक मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ।
मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–१ निवासी सुमनप्रसाद अधिकारी रहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार सोमबार बिहान काठमाडौँ महानगरपालिका–७ स्थित चावहिल ओरालोमा दुर्घटना भएको हो। गोपीकृष्ण पुलबाट चावहिल चोकतर्फ जाँदै गरेको बा प्र ०२–०५३–१८६४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आएको प्रदेश ३–०१–००६ ख ०६३० नम्बरको भाडाको बसले ठक्कर दिएको थियो।
बसको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि चावहिलस्थित हेल्पिङ हेण्ड्स अस्पताल पु¥याइएको थियो। अस्पतालमा उपचारकै क्रममा अधिकारीको मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।
दुर्घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो।








