२०८३ कात्तिक १६ , सोमबार

भारतीय सेनामा गोर्खा भर्ती खुलाउन माग गर्दै काठमाडौंमा प्रदर्शन



काठमाडौं। भारतीय सेनामा नेपाली गोर्खा युवाको भर्ती प्रक्रिया पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ। अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघको अगुवाइमा सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो।

भारत सरकारले अग्निपथ योजना लागू गरेपछि भारतीय सेनामा नेपाली गोर्खा युवाको भर्ती प्रक्रिया रोकिएको छ। लामो समयदेखि भर्ती प्रक्रिया पुनः सञ्चालन गर्न माग हुँदै आए पनि अहिलेसम्म यस विषयमा ठोस सहमति हुन सकेको छैन। यसअघि गत अगस्ट १२ मा पोखरामा पूर्वगोर्खा सैनिक तथा युवाहरूले भर्ती खुलाउन माग गर्दै प्रदर्शन गरेका थिए।

त्यस्तै, अगस्ट १९ मा भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको नेपाल भ्रमणका क्रममा पनि पूर्वगोर्खा सैनिकहरूले भर्ती प्रक्रिया पुनः सुरु गर्न पहल गर्न आग्रह गरेका थिए। तर भारतीय सेनाध्यक्षको नेपाल भ्रमणका क्रममा समेत यस विषयमा ठोस सहमति हुन नसकेको प्रदर्शनकारीहरूको भनाइ छ।

बेरोजगार युवालाई रोजगारी दिन माग,

माइतीघरमा आयोजित प्रदर्शनमा सहभागीहरूले भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न सरकारसँग पहल गर्न माग गरेका छन्। उनीहरूले भर्ती प्रक्रिया बन्द हुँदा भारतीय सेनामा जाने तयारी गरिरहेका नेपाली युवाहरू प्रभावित भएको भन्दै बेरोजगार युवाका लागि भरपर्दो रोजगारीको व्यवस्था गर्न पनि माग गरेका छन्।

त्यसैगरी, पूर्वगोर्खा सैनिकसँग सम्बन्धित संस्था तथा संगठनको दर्ता नवीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने उनीहरूको माग छ। प्रदर्शनकारीहरूले यसअघि गरिएको सचिवस्तरीय निर्णय खारेज गरी पूर्वगोर्खा सैनिकका संस्था तथा संगठनको दर्ता नवीकरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।

भारतीय सेनामा गोर्खा भर्ती नेपाली युवाका लागि लामो समयदेखि रोजगारीको एउटा महत्वपूर्ण माध्यम रहँदै आएको छ। भर्ती प्रक्रिया पुनः सुरु गर्ने विषयलाई लिएर पूर्वगोर्खा सैनिक तथा इच्छुक युवाहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार