२०८३ कात्तिक १६ , सोमबार

कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई दियो १८१ रनको लक्ष्य



काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार जारी खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजसामु १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनाएको हो। कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए। उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, हुसेन तलतले ३० बलमा एक चौका र दुई छक्काको मद्दतमा ४० रन जोडे।

पवन सर्राफले आक्रामक ब्याटिङ गर्दै २३ बलमा दुई छक्कासहित अविजित ३० रन बनाए। गुल्सन झाले १२ बलमा दुई छक्का प्रहार गर्दै २० रनको योगदान दिए। कर्णालीका अर्का ओपनर बंगलादेशी खेलाडी जिशान आलमले पनि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका छन्। आइतबार मात्रै नेपाल आइपुगेका उनी ७ रन बनाएर आउट भए।

दोस्रो विकेटका लागि अरिफुल इस्लाम र मार्क वाटले ४६ रनको साझेदारी गरेका थिए। त्यसपछि लगातार विकेट गुमाउँदा कर्णाली ७८ रनमा चार विकेटको अवस्थामा पुगेको थियो। तर पाँचौँ विकेटका लागि पवन सर्राफ र हुसेन तलतले ६५ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाले। १७औँ ओभरको अन्तिम बलमा तलत हिट विकेट भएर आउट भएका थिए।

त्यसपछि पवन सर्राफ र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गर्दै टोलीलाई १८० रनको योगफलसम्म पु¥याए। बलिङतर्फ काठमान्डु गोर्खाजका कप्तान करण केसीले सर्वाधिक दुई विकेट लिए।

शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले समान एक–एक विकेट हात पारे। अब काठमान्डु गोर्खाजले जितका लागि निर्धारित २० ओभरमा १८१ रन बनाउनुपर्नेछ।

प्रकाशित मिति : २०८३ कात्तिक १६ गते सोमबार