कालीकोट । दैनिक उपभोग्य वस्तुको मूल्य निरन्तर बढ्दै जाँदा सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेको छ । विशेषगरी पछिल्लो एक महिनाको अवधिमा चामलको मूल्य प्रतिवोरा चार सय रुपैयाँसम्म बढेपछि उपभोक्ताको भान्सा थप महँगिएको छ । स्थानीय बजारमा एक महिनाअघि २५ किलोको आगो चामल दुई हजार रुपैयाँमा बिक्री हुँदै आएकोमा अहिले त्यसको मूल्य बढेर दुई हजार चार सय रुपैयाँ पुगेको छ । पाल्ती सुनमुन चामलको मूल्यमा पनि प्रतिवोरा करिब चार सय रुपैयाँ वृद्धि भएको व्यवसायीहरूले बताएका छन् ।
चामलसँगै खानेतेल, दाल, चिनी, नुनलगायत अन्य अत्यावश्यक उपभोग्य वस्तुको मूल्यसमेत बढ्दै गएको उपभोक्ताको गुनासो छ । खानेतेलको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । बिकुल तेलको प्रतिकार्टुन मूल्य दुई हजार चार सय रुपैयाँबाट बढेर दुई हजार छ सय ७० रुपैयाँ पुगेको छ भने स्वस्तिक तेलको मूल्य दुई हजार पाँच सय रुपैयाँबाट बढेर दुई हजार सात सय ७० रुपैयाँ पुगेको छ । स्थानीय व्यवसायीका अनुसार थोक बजारमै मूल्य बढ्नु, ढुवानी खर्च महँगिनु तथा आपूर्ति लागत बढ्नु मूल्यवृद्धिका मुख्य कारण हुन् । व्यवसायी जयप्रसाद न्यौपानेले थोक बजारबाट महँगो मूल्यमा सामान खरिद गर्नुपर्ने अवस्था भएकाले खुद्रा मूल्य बढाउन बाध्य भएको बताए ।
ढुवानी, लोड–अनलोड, भाडा तथा अन्य सञ्चालन खर्च जोड्दा न्यून नाफामै व्यापार गर्नुपरेको उनकाे भनाई छ । यता उपभोक्ताले भने बजारमा नियमित अनुगमन नहुँदा व्यवसायीले मनपरी मूल्य निर्धारण गर्ने वातावरण बनेको आरोप लगाएका छन् । स्थानीय रमित शाहीले कृत्रिम मूल्यवृद्धि रोक्न प्रशासनले प्रभावकारी बजार अनुगमन गर्नुपर्ने माग गरे । उनका अनुसार सुर्खेतमै चामलको मूल्य बढेकाले कालीकोटमा ढुवानी खर्च थपिँदा मूल्य अझ बढी हुनु स्वाभाविक भए पनि अनावश्यक मूल्यवृद्धि नियन्त्रण आवश्यक छ ।
उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बजारमा भइरहेको मूल्यवृद्धि नीतिगत कमजोरी, आपूर्ति प्रणाली र उद्योगी–व्यवसायीबीचको समन्वय अभावसँग पनि जोडिएको बताउनुभयो। महँगी बढ्दै जाँदा न्यून आय भएका परिवार, दैनिक ज्यालादारी मजदुर तथा करार कर्मचारी सबैभन्दा बढी प्रभावित भएका छन् । उपभोक्ताले बजार मूल्य नियन्त्रण, नियमित अनुगमन र सहज आपूर्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।









