हुम्ला । जिल्लाकाे चङ्खेली गाउँपालिकाका विभिन्न शाखाका जिम्मेवार कर्मचारी लामो समयदेखि कार्यालयमा अनुपस्थित भएपछि सेवा प्रवाह प्रभावित भएको छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसँगै कार्यालय छाडेका कर्मचारी हालसम्म नफर्किएपछि स्थानीय सेवाग्राहीले आवश्यक प्रशासनिक तथा आर्थिक सेवा लिन कठिनाइ भोगिरहेका छन् । स्थानीयका अनुसार गत असार २५ गते आर्थिक कारोबार बन्द भएपछि भोलिपल्ट बिहानदेखि प्रमुख शाखाका कर्मचारी कुनै औपचारिक जानकारी वा समन्वयबिना कार्यालयबाट बाहिरिएका थिए । त्यसयता उनीहरू कार्यालयमा नफर्किँदा नागरिकले सिफारिस, भुक्तानी तथा अन्य अत्यावश्यक सेवाबाट वञ्चित हुनुपरेको गुनासो गरेका छन् ।
सेवाग्राही हिक्मत शाहीले जिम्मेवार कर्मचारी लामो समयसम्म कार्यालयमा उपस्थित नहुँदा दैनिक कामकाज प्रभावित भएको बताए । उनका अनुसार सार्वजनिक सेवा दिने कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्नुका साथै कानुनी प्रक्रिया पनि पालना गर्नुपर्ने भए पनि त्यसको बेवास्ता गरिएको देखिएको छ । कर्मचारी किन अनुपस्थित छन् भन्नेबारे स्पष्ट जानकारीसमेत प्राप्त हुन नसकेको उनकाे भनाइ छ ।
गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीका अनुसार असार २५ गते सर्भरमा समस्या आएको भन्दै केही भुक्तानी रोकिएको थियो । त्यसपछि प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियर, योजना शाखा प्रमुख, प्रशासन शाखा प्रमुख तथा लेखापाललगायतका कर्मचारीले गाउँपालिकालाई औपचारिक जानकारी नदिई कार्यालय छाडेका हुन् । यसले प्रशासनिक कार्य मात्र नभई विकास निर्माणसँग सम्बन्धित कामसमेत प्रभावित भएको अध्यक्ष शाहीले बताए ।
उनले रोकिएका भुक्तानी, अधुरा प्रशासनिक प्रक्रिया तथा आर्थिक कारोबारका विषयमा सम्बन्धित कर्मचारीले जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। गाउँपालिकाबाट खर्च हुनुपर्ने केही पुँजीगत बजेटसमेत समयमै उपयोग हुन नसकेर फिर्ता गएको उनकाे भनाइ छ । स्थानीयवासीले सार्वजनिक सेवा नियमित र प्रभावकारी बनाउन सम्बन्धित निकायले कर्मचारीको उपस्थितिको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । गाउँपालिकाले पनि समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ । कर्मचारीको अनुपस्थितिका कारण सेवा प्रवाहमा आएको अवरोध हटाई नागरिकलाई सहज र निरन्तर सेवा उपलब्ध गराउनेतर्फ आवश्यक पहल गरिने गाउँपालिकाको भनाइ छ ।









