काठमाडौं । दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आइपुगेका छन्। कर्णाली याक्समा अनुबन्ध भएका मिलर बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
नेपाल आइपुगेका मिलरलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए। ३७ वर्षीय बायाँ हाते मध्यक्रमका ब्याटर मिलरले दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसँगै विश्वका विभिन्न चर्चित फ्रेन्चाइज क्रिकेट लिगमा आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत छुट्टै पहिचान बनाएका छन्।
उनले भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल) लगायतका प्रतियोगिता खेलिसकेका छन्। आईपीएलमा उनले दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किङ्स इलेभेन पञ्जाब र गुजरात टाइटन्सबाट खेलेका थिए। सन् २०२२ मा गुजरात टाइटन्सले पहिलोपटक आईपीएल उपाधि जित्दा मिलरको भूमिका महत्त्वपूर्ण थियो।
दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका मिलरले २ हजार ८०४ रन बनाएका छन्। यस क्रममा उनले दुई शतक र नौ अर्धशतक प्रहार गरेका छन्। त्यस्तै, समग्र टी–२० करियरमा उनले ५८४ खेलबाट १२ हजार ४३५ रन बनाएका छन्। यस क्रममा चार शतक र ५३ अर्धशतक बनाएका छन्।
मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध मात्र ३५ बलमा शतक प्रहार गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका थिए। त्यस्तै, आईपीएलमा पञ्जाबबाट खेल्दा रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ३८ बलमा शतक प्रहार गरेका थिए। कर्णाली याक्सका अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनले नेपाली क्रिकेटको स्तर अभिवृद्धि गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
यस सिजन एनपीएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ। टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रनले र दोस्रो खेलमा विराटनगरलाई चार विकेटले पराजित गरेको थियो। तर, तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग चार विकेटले पराजित भएको थियो। अब कर्णाली याक्सले शुक्रबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेलमा स्टार ब्याटर डेभिड मिलर पनि मैदान उत्रिने अपेक्षा गरिएको छ। उनको आगमनले कर्णाली याक्सको ब्याटिङ थप बलियो हुने विश्वास गरिएको छ।








