२०८३ साउन १९ , मंगलबार

हिल्सा नाकाबाट चीन प्रवेशमा अनलाइन दर्ता अनिवार्य



हुम्ला । हिल्सा नाकाबाट चीनको ताक्लाकोट प्रवेश गर्ने नेपाली नागरिकले अब अनिवार्य रूपमा अनलाइन विवरण दर्ता गर्नुपर्ने भएको छ । चिनियाँ सुरक्षा निकायले सीमा व्यवस्थापनलाई थप व्यवस्थित र डिजिटल बनाउन नयाँ व्यवस्था लागू गरेपछि चीन प्रवेशको प्रक्रिया परिवर्तन भएको हो । नयाँ नियमअनुसार ताक्लाकोट प्रवेश गर्नु अघि यात्रुले आफ्नो व्यक्तिगत विवरण अनलाइन प्रणालीमा दर्ता गर्नुपर्नेछ । यसअघि भने हुम्लाका स्थानीयले सीमा पास र नेपाली नागरिकता देखाएर सहज रूपमा चीन प्रवेश गर्न पाउँथे। अहिले भने अनलाइन दर्ता पूरा नगरेसम्म चिनियाँ भन्सारबाट प्रवेश अनुमति नदिइने व्यवस्था गरिएको छ ।

ताक्लाकोट पुग्नुभएका स्थानीय लोक भण्डारीका अनुसार नयाँ प्रणालीले सीमा सुरक्षालाई व्यवस्थित बनाउन सहयोग पुर्‍याए पनि डिजिटल प्रक्रियासँग परिचित नभएका सर्वसाधारणलाई केही कठिनाइ भएको छ । हिल्सा क्षेत्रमा इन्टरनेट सेवा सहज नभए पनि चिनियाँ पक्षले सीमा प्रवेशद्वारमा निःशुल्क इन्टरनेटको व्यवस्था गरेकाले त्यहीँबाट अनलाइन विवरण भर्ने सुविधा उपलब्ध गराइएको छ ।

यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीका अनुसार काम, व्यापार तथा अन्य प्रयोजनका लागि दैनिक रूपमा ताक्लाकोट जाने अधिकांश स्थानीयलाई अनलाइन फाराम भर्न नआउँदा समस्या भइरहेको छ । उनले चिनियाँ पक्षको सुरक्षा व्यवस्था स्वाभाविक भए पनि डिजिटल प्रणालीबारे पर्याप्त जानकारी र सीपको अभावले स्थानीयलाई असहज बनाएको बताए । उनका अनुसार अधिकांश यात्रुले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा अनलाइन दर्ता प्रक्रिया पूरा गरिरहेका छन् ।

केही व्यक्तिले आफैँ विवरण भर्न सके पनि धेरैलाई प्राविधिक सहयोग आवश्यक परिरहेको छ। यसका लागि सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले यात्रुलाई सहजीकरण गर्दै आएका छन् । स्थानीयवासीले भने चीनतर्फ लागू हुने नियमहरू पटक–पटक परिवर्तन हुँदा सीमावर्ती क्षेत्रमा काम गर्ने र व्यापारका लागि नियमित आवतजावत गर्ने नागरिकलाई थप झन्झट व्यहोर्नुपरेको गुनासो गरेका छन् । रोजगारी र व्यापारका लागि चीन जानुपर्ने बाध्यताका कारण नयाँ डिजिटल प्रक्रिया अपनाउन उनीहरू बाध्य भए पनि आवश्यक जानकारी र सहजीकरण बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार