सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले जिल्लाका दुई फरक सामुदायिक वन क्षेत्रबाट बेवारिसे अवस्थामा लुकाइराखिएका तीन नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । गोप्य सूचनाका आधारमा गरिएको खोजतलासका क्रममा ती बन्दुक फेला परेका हुन् । प्रहरीका अनुसार बनगाड कुपिण्डे नगरपालिका १२ स्थित सिद्धगुफा सामुदायिक वनबाट दुई नाल र त्रिवेणी गाउँपालिका दुई स्थित ठाँटीबोट सामुदायिक वनबाट एक नाल गरी जम्मा तीन नाल भरुवा बन्दुक बरामद गरिएको हो ।
बन्दुकहरू वन क्षेत्रभित्र झाडी र ओडारजस्ता स्थानमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वर रोकायका अनुसार जंगलमा अवैध हतियार लुकाइराखिएको भन्ने विशेष सूचनापछि प्रहरी टोली परिचालन गरिएको थियो । खोजी अभियानका क्रममा बेवारिसे अवस्थामा रहेका भरुवा बन्दुक फेला पारिएको उनले जानकारी दिए ।
प्रहरीले बरामद भएका बन्दुक कसको स्वामित्वमा रहेका हुन्, कसले वन क्षेत्रमा लुकाएर राखेको हो र यसको प्रयोग कुन उद्देश्यका लागि गर्न खोजिएको थियो भन्ने विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ । घटनासँग सम्बन्धित व्यक्ति वा समूहको पहिचानका लागि स्थानीयसँग सोधपुछ गर्नुका साथै अन्य प्रमाण संकलन गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय अवैध हतियारको प्रयोग तथा ओसारपसार नियन्त्रण गर्न जिल्लाका विभिन्न स्थानमा निगरानी बढाइएको छ ।
समुदायबाट प्राप्त सूचनाका आधारमा यस्ता गतिविधिमाथि निरन्तर अनुगमन गरिँदै आएको र शंकास्पद गतिविधि देखिए तत्काल जानकारी गराउन स्थानीयलाई पनि आग्रह गरिएको छ । जिल्ला प्रहरी कार्यालयले अवैध हतियार राख्नु, प्रयोग गर्नु वा लुकाइराख्नु कानुनविपरीत हुने भएकाले यस्ता कार्यमा संलग्न जो–कोहीलाई कानुनी कारबाही गरिने स्पष्ट पारेको छ । प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न र अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउने जनाएको छ ।









