डोल्पा । जिल्लाकाे काइके गाउँपालिकाले काठमाडौं र नेपालगञ्जमा बसोबास गरिरहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई लक्षित गर्दै घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ । गाउँसम्म पुग्नुपर्ने झन्झट हटाई भत्ता नवीकरण प्रक्रिया सहज, छिटो र प्रभावकारी बनाउने उद्देश्यले शिविर आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार काठमाडौंमा साउन २३ गतेदेखि २६ गतेसम्म रामहिटीस्थित छेगो एकता समाज भवनमा घुम्ती शिविर सञ्चालन हुनेछ । त्यसपछि साउन २७ गते नेपालगञ्जको राँझा एयरपोर्ट गेटछेउमा एकदिने सेवा शिविर सञ्चालन गरिनेछ । यी शिविरमार्फत सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि आवश्यक प्रक्रिया पूरा गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष अंगत राना मगरले दुर्गम भौगोलिक अवस्थाका कारण गाउँमा पुगेर सेवा लिन कठिनाइ हुने नागरिकलाई लक्षित गर्दै शिविर सञ्चालन गर्न लागिएको बताए । उनका अनुसार काठमाडौं र नेपालगञ्जमा अध्ययन, रोजगारी तथा अन्य कारणले बसोबास गरिरहेका लाभग्राहीले निर्धारित मिति र स्थानमा उपस्थित भई भत्ता नवीकरण गराउन सक्नेछन् ।
सेवा लिन आउने लाभग्राहीले नागरिकता, परिचय खुल्ने कागजात तथा नवीकरणका लागि आवश्यक अन्य विवरण अनिवार्य रूपमा साथमा ल्याउन गाउँपालिकाले आग्रह गरेको छ । आवश्यक कागजात नल्याए सेवा दिन कठिनाइ हुन सक्ने भएकाले समयमै तयारी गर्न पनि अनुरोध गरिएको छ । नेपालगञ्जमा सञ्चालन हुने शिविरको समन्वयका लागि वडा अध्यक्ष ओमकार रोकाया र वडा सचिव वसन्त के.सी.लाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको गाउँपालिकाले जनाएको छ ।
शिविरसम्बन्धी जानकारी वा सहजीकरण आवश्यक परे सम्बन्धित प्रतिनिधिसँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । काइके गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. रामेश कुमार यादवद्वारा जारी सूचनामा दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने नीति अनुरूप घुम्ती सेवा सञ्चालन गर्न लागिएको उल्लेख छ । गाउँपालिकाले यस्ता सेवाले लाभग्राहीको समय, खर्च र यात्रा झन्झट घटाउनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ ।









