२०८३ साउन १९ , मंगलबार

महिला किसानलाई आलु व्यवस्थापन तालिम



दैलेख । नारायण नगरपालिका चार रतापानीका महिला किसानलाई लक्षित गरी आलु बालीको कटानीपछिको व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ । आलुको गुणस्तर कायम राख्ने, उत्पादनपछिको क्षति घटाउने तथा बजारमा राम्रो मूल्य प्राप्त गर्न सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । फागुनेहरियाली किसान समूहमा आबद्ध महिला किसानका लागि आयोजना गरिएको उक्त तालिम नेपाल सरकार, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूको संयुक्त पहल ‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रम अन्तर्गत आर्थिक सशक्तीकरण कार्यक्रममार्फत सञ्चालन गरिएको हो ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को पहलमा सेवक नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो । तालिममा आलु बालीको कटानीपछि अपनाउनुपर्ने सावधानी, उत्पादनको छनोट तथा वर्गीकरण, वैज्ञानिक भण्डारण, गुणस्तर संरक्षण, रोग तथा किराको नियन्त्रण, प्याकेजिङ र बजार व्यवस्थापनका विषयमा किसानलाई जानकारी दिइएको थियो ।

तालिमका क्रममा उत्पादन बढाउनु मात्र नभई उत्पादनपछिको उचित व्यवस्थापन पनि कृषि व्यवसायको महत्वपूर्ण पक्ष भएको विषयमा जोड दिइएको थियो । सही तरिकाले भण्डारण, गुणस्तरअनुसार वर्गीकरण र बजारको मागअनुसार व्यवस्थापन गर्न सके किसानले उत्पादनबाट थप आम्दानी लिन सक्ने बताइएको थियो। तालिमको सहजीकरण बागबानी अनुसन्धान केन्द्र, दैलेखका प्रमुख जीतनारायण चौधरीले गरेका थिए । उनले आलुको गुणस्तर जोगाउन वैज्ञानिक भण्डारण, तापक्रम र आर्द्रताको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।

उत्पादनपछिको क्षति कम गर्न सके किसानको आर्थिक अवस्थामा सुधार आउने उनकाे भनाइ थियो । कार्यक्रममा गोठपाडा कृषि सहकारीकी अध्यक्ष मुना थापाले यस्ता सीपमूलक तालिमले किसानको क्षमता विकास गर्नुका साथै कृषि उत्पादनलाई व्यावसायिक बनाउन सहयोग पुग्ने बताइन् । अनुसन्धानमा आधारित प्रविधि र ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सके उत्पादन र आम्दानी दुवै बढ्ने उनकाे  भनाइ थियो ।

तालिममा सहभागी सरिता तारामी मगरले आलुको सुरक्षित भण्डारण, गुणस्तर संरक्षण र बजार व्यवस्थापनका विषयमा नयाँ ज्ञान प्राप्त भएको बताए । सिकेका सीपलाई व्यवहारमा प्रयोग गरी उत्पादनको क्षति घटाउने र राम्रो मूल्यमा बिक्री गर्ने प्रयास गर्ने उनले बताए । तालिममा २८ जना महिला किसानको सहभागिता रहेको थियो । सहभागीहरूले प्राप्त ज्ञान र सीपले आलु उत्पादनको गुणस्तर सुधार, कटानीपछिको क्षति न्यूनीकरण तथा किसानको आम्दानी वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार